धान दिवसमा नेकपा एमाले विराटनगर महानगरले गर्‍यो रोपाई


विराटनगर । २१ औँ धान दिवसका अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले आज सीमावर्ती क्षेत्रमा पुगेर धान रोपाइँ गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामलाल साहसहित महानगर कमिटी अध्यक्ष, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायतका नेताहरूको उपस्थितिमा रोपाइँ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेकपा एमालेका केन्द्रीय सदस्य साहले नेपालको प्रमुख अन्नबालीका रूपमा रहेको धान खेतीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले कृषकहरूलाई खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह गर्दै कृषकका समस्या समाधानका लागि नेकपा एमाले लागिपर्ने बताउनुभयो ।

यस्तै नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र कृषि उपजको लागि दक्षिणी क्षेत्र उर्वर रहेको भन्दै त्यसैले कृषकलाई हौसला प्रदान गर्न दिवसका लागि विराटनगर १८ लाई रोजिएको बताउनुभयो । विराटनगरका सबै क्षेत्रमा राज्यको पहुँच पु¥याउन नेकपा एमाले तल्लिन रहने भन्दै कृषिको विकासका निम्ति पनि उसैगरी अगुवाइ लिने बताउनुभयो ।

सयौँको संख्यामा भेला भएका एमालेका कार्यकर्ता तथा स्थानीयले हिलो छ्यापाछ्याप गर्दै धान दिवसमा रोपाइँ गरेका हुन् । रोपाई पछि दही चिउरा खाएर कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्