नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बादलका छोरा प्रतीक थापा पक्राउ


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । उनलाई केही बेरअघि काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ । उनलाई ठगी, सङ्गठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी गरिएको छ ।

उनी काठमाडौँको नक्सालस्थित निलगिरी होटेलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोग पत्रमा उल्लेख छ । उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्क स्थान नै उक्त होटेललाई बनाएका थिए ।

प्रतीक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाउन लगाई ठगी गरेको आरोप छ । बादल गृहमन्त्री हुँदा प्रतीक प्रमुख स्वकीय सचिव थिए ।

प्रतिक्रिया दिनुहोस्