प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरे : कोको भए मन्त्री (सूचीसहित)


काठमाडौँ, ५ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी बुधवार साँझ मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधान धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन भएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेले रक्षाको जिम्मेवारी यथावत् रहेको छ । तर उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय भने खोसिएको छ ।
हाल भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष यादवको मन्त्रालय नेकपा नेता भानुभक्त ढकालले पाएका छन् । यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाए भने ढकालले स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मेवारी पाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत् रहेको छ ।

पूर्व एमालेबाट भएका सङ्घीय मामिलामन्त्री लालबाबु पण्डित, भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ भने पूर्व माओवादीबाट भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा रामेश्वर राय यादव, अर्थमन्त्री डा. युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्माकुमारी अर्याल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्ग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ भएका छन् ।

खानेपानीमन्त्री बिना मगर यथावत् रहेकी छन् । मोतीलाल दुगडले उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले सहरी विकास राज्यमन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्