गुरुकुल पाठशालाले विज्ञान र वाणिज्य सङ्कायको कक्षा ११ सञ्चालन गर्दै : असार ९ गते देखी निःशुल्क रोबोटिक्स वर्कसप


बेलबारी । बेलबारी नगरपालिका वडा नं.३ मा अस्थित गुरुकुल पाठशाला मा.विले कक्षा ११ सञ्चालन गर्ने भएको छ । कक्षा ११ मा विज्ञान र वाणिज्य सङ्काय सञ्चालन गर्ने विद्यालयले शुक्रबाट पत्रकार सम्मेलन गरेर जानकारी प्रदान गरेको हो ।

बेलबारी नगरपालिकाबाट अनुमति प्राप्त भएसँगै गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यसहित कक्षा ११ सञ्चालन गर्ने तयारी सम्पन्न गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव थापाले जनाएका छन् । प्लस टु पढ्न गुणस्तर शिक्षाको लागि अन्य जिल्ला र पालिका जानु पर्ने बाध्यताको अन्त्य गुरुकुलले गर्ने थापाले बताए ।

कक्षा १ देखी ६ सम्म मात्र पहिलो चरणमा अनुमति प्राप्त गरेर सुरु गरेको गुरुकुलले कक्षा ११ सम्म सञ्चालन गर्न पाउँदा थापाले खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद पनि प्रदान गरेका छन् । साथै विश्वास गरेर साथ दिने विद्यार्थीका अभिभावकहरूलाई पनि थापाले धन्यवाद प्रदान गर्दै स्नातक कक्षा सञ्चालनको लागि अनुमति लिएर चाडै तयारी सुरु गर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक कुमार खुलालका अनुसार कक्षा ११ मा कम्प्युटर साइन्स पढाइ हुने छ । विज्ञान अध्यापनको लागि रसायन विज्ञान, जीवविज्ञान र भौतिक विज्ञानको ल्याबहरू तयार गरी सकेको खुलालले जनाएका छन् । भर्ना हुने पहिलो चरणका ३० विद्यार्थीहरूलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने खुलालले बताए । इन्ट्रान्स टपरहरूको लागि पनि उचित सुविधा प्रदान गर्ने खुलालले बताए ।

गुरुकुलले असार ९ गते देखी निःशुल्क ७ दिने रोबोटिक्स वर्कसप पनि गर्दै छ । यो कार्यशाला बेलबारीमा पहिलो पटक हुन गइरहेको गुरुकुलको दाबी रहेको छ । विद्यालयको अनुसार कार्यशालाको अन्तिम दिन सिकेर बनाएका रोबोटहरू प्रदर्शनी गरिने छ । विद्यालय व्यवस्थापनका अध्यक्ष थापा र प्रधानाध्यापक खुलालले रोबोटिक्स वर्कसपले विद्यार्थीहरूको पढाइमा थप सहयोग गर्दै सृजनशील बनाउने विश्वास राखेका छन् । कार्यशालाको प्रमुख प्रशिक्षक अनिल कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्