छाउगोठ बसेकी एक १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कृत


अछाम । अछाममा छाउगोठ बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि सोमबार राति सामूहिक बलात्कार भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीय किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन् । उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् ।

स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।

अस्पतालमा उपचार पश्चात् होशमा आएकी ती किशोरीले आफूमाथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन् । उनले स्थानीय १७ वर्षीय किशोरलगायत ३÷४ जनाले सामूहिक बलात्कार गरेको बताएकी थिइन् । आँखा र घाँटीमा कपडाले बाँधेकाले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ । अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । मङ्गलवार बिहान उनको उद्धारमा गएकी नगर प्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस्