६ किलो सुन र ४८ लाख नगदसहितसहित एक चिनियाँ नागरिक पक्राउ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट ६ किलो सुन र ४८ लाख नगदसहितसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँबारे अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् ।

काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ । क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा गुरुङको घरमा खानतलासी गर्दा सुन र नगद भेटिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् । त्यस्तै सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरूलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । दोस्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ । कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप) मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ ।

सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ । तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमध्ये दुई जना दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । बाँकी ११ जना सीआईबीको हिरासतमा छन् । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारतकै धिरज दिनेश वैटे, भारत महाराष्ट्रका प्रशान्त गणेश वजवलकार छन् ।

सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ व्रह्मदत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं, थर्कमान भनिने कान्छा लामा, राजु र टासी भोटे भनेर चिनिने कंगा चासी सीआईबीको हिरासतमा छन् । पेवेल प्रालिका अध्यक्ष भीमप्रसाद तिम्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य, सुरज शमशेर जबरा, सजिलो पेका फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील जाकि बन्जा, कश्यप मानन्धर, लालबहादुर कुँवर र अरुण कुमार यादव सीआईबीको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्