स्वास्थ्य क्षेत्रमा उर्लाबारीको फड्को : सबै गरिब – विपन्नको बिमा गरिँदै


उर्लाबारी। संविधानमै नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने उल्लेख छ । निःशुल्क स्वास्थ्य सेवा पाउने जनताको मौलिक हक भनिए पनि व्यवहारमा अनुभूत गर्न सकिएको छैन ।

मोरङको उर्लाबारी नगरपालिकाले भने बजेटको सीमितताकै बिच स्वास्थ्य पूर्वाधार निर्माणमा जनताले अनुभूत गर्ने काम गरिरहेको छ । जहाँ विपन्न – गरिबका लागि स्वास्थ्य बिमा लागु गरिएको छ । नगरका विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा, मृतकका लागि शव बाहनपनि उपलब्ध गरिएको छ । र, नागरिकहरूलाई स्वास्थ्यको पहुँचबाट अझ नजिक बनाउन प्रत्येक वडामा स्वास्थ्य शिविर गर्न थालिएको छ ।

स्थायी बन्ध्याकरण शिविर पनि आयोजना गर्ने गरिएको छ । ३ नम्बर वडाको मङ्गलबारेमा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर सदरमुकाम बाहिरकै ठुलो स्वास्थ्य केन्द्र हो । प्रदेश सरकार मातहत भए पनि नगरपालिकासँगको समन्वयमा सञ्चालित छ । जटिल प्रकृतिका बिरामीलाई ट्रमा सेन्टरमा उपचारका लागि नगरपालिकाले प्रभावकारी व्यवस्था मिलाइएको छ ।

अहिले नगरपालिकाअन्तर्गत राजघाटमा एउटा सुविधा सम्पन्न स्वास्थ्य चौकी, एक सहरी स्वास्थ्य केन्द्र, आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रसँगै सामुदायिक क्लिनिक, मातृ स्वास्थ्य क्लिनिक र राजघाटमा सञ्चालित आयुर्वेद औषधालयको व्यवस्थित पूर्वाधार निर्माण सम्पन्न भएको छ । नगरअन्तर्गत क्षयरोग माइक्रोसकोपी सेन्टर, बेसिक ल्याब, गाउँघर क्लिनिक, खोप क्लिनिक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन, डट्स सेन्टर तथा पीएमटीसी सेवा प्रदायक कार्यहरू नियमित रहेको स्वास्थ्य शाखा अधिकृत भीमबहादुर पौडेलले जानकारी दिनुभयो । हरेक क्षेत्रको एकै पटक विकास गर्नुपर्ने मुख्य जिम्मेवारी बोकेर आए पनि जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको अर्थ रहँदैन भनेर स्वास्थ्य क्षेत्रमा विशेष जोड दिइएको नगर प्रमुख गङ्गाप्रसाद खरेल बताउनुहुन्छ ।

२०८०–८१ को आर्थिक वर्षमा नगरले स्वास्थ्यमा रु एक करोड ४२ लाख बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट थप उल्लेखनीय बनाउने गृहकार्य भइरहेको नगर प्रमुख खरेल बताउनुहुन्छ । उहाँले आफूहरू निर्वाचित भएको दुई वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । यसै वर्ष उर्लाबारी नगरपालिकाले नगरभित्रका १९ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा सुरुवात गरेको छ । जुन कार्य स्वास्थ्य सेवा प्रवाहमा ‘माइल स्टोन’ साबित भएको छ ।

नगर प्रमुख खरेलले स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि गर्न निःशुल्क बिमा कार्यक्रम सुरु गरेको बताउनुभयो । नगरका सबै वडाबाट सिफारिस भएर आएका विपन्न तथा अपाङ्गता भएका परिवारको स्वास्थ्य बिमा गरिएको हो । प्रारम्भमा नगरभरिका १९ सय परिवारको स्वास्थ्य बिमा गरिएको र आगामी वर्षहरूमा यसलाई निरन्तरता दिइने नगर प्रमुख खरेलले बताउनुभएको छ । निष्पक्ष रूपमा वडाभित्रका विपन्न र अपाङ्गता भएका परिवारको स्वास्थ्य बिमा गरिएको र कोही छुटेको भएमा वडा कार्यालयमा सम्पर्क राख्नुपर्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जनाउनुभयो ।

आर्थिक रूपमा कमजोर भएका घरपरिवारलाई उपचारमा सहज पहुँच विस्तारका लागि उर्लाबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । मिर्गौला प्रत्यारोपण गरेका, डायलिसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीहरूलाई औषधोपचार बापत खर्च उपलब्ध गराइने कार्यविधि अनुसार चालु आर्थिक वर्षमा डेढ सय जना बिरामी लाभान्वित भइसकेका छन् ।

औषधोपचार खर्च वितरणसम्बन्धी विद्यामान व्यवस्थालाई व्यवहारिक बनाउनुका साथै वास्तविक पीडित बिरामीलाई मात्रै सहायता उपलब्ध गराउने हेतुले बिरामीको अवस्था हेरी नगरपालिकाले आर्थिक सहायता वितरण गर्दै आएको छ । नगरपालिकाको आयोजनामा वडा नम्बर १ मा तथा वडा नम्बर ६ कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । अन्य वडामा पनि शिविरको तयारी थालिएको छ ।

प्रख्यात फिजिसियन डा. सूर्यनारायण साहका अलावा विशेषज्ञ चिकित्सकसहित सम्बन्धित वडामा रहेका स्वास्थ्यकर्मीहरू र नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मीहरुले सेवाग्राहीको चेकजाँच तथा स्वास्थ्य परामर्श प्रदान गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा निःशुल्क औषधि वितरणका साथै स्वास्थ्य परीक्षणहरू गरिएको छ । नगर प्रमुख खरेलले स्वास्थ्य नीति, स्वास्थ्य ऐन र वार्षिक स्वास्थ्य योजनाका आधारमा नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरेको बताउनुभयो ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाले सेनेटरी प्याड वितरण, निःशुल्क गर्भवती जाँच, सुत्केरी जाँच गर्दै आएको छ। विद्यालय पढ्ने किशोरीलाई आइरन चक्की वितरण, महिलाको पाठेघर स्क्रिनिङ क्याम्प, सिकलसेल एनिमिया परीक्षण, गर्भवती, प्रसूति महिलालाई आकस्मिक उपचार सेवा, आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलाको निःशुल्क भिडियो एक्स-रे सेवा, गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

उर्लाबारी नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । वडा कार्यालयहरूले विगत वर्षहरूदेखि नै सुत्केरी भएका विपन्न महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको छ । त्यस्तै रेडक्रससँग साझेदारीमा सर्पदंश कार्यक्रम सञ्चालित अवस्थामा छ । त्यसो त कार्यसम्पादन मूल्याङ्कनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट बनेको उर्लाबारी नगरपालिकाले स्वास्थ्यतर्फ प्रगति विवरणमा उल्लेखनीय सूचक हासिल गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरी सार्वजनिक गरिएको थियो । जम्मा १६ वटा सूचकहरू मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो । चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०७९–८० मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात रहेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले नगरका सबै सूचांकहरूमा उल्लेखनीय सुधार ल्याउन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिइएको र परिणाम पनि सोही अनुरूप आइरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गराई विविध तालिम, नवजात शिशु तथा बाल रोगको रोकथाम तथा मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ स्थानीय समुदाय परिचालन गरी सेवाको पहुँच र उपभोगमा वृद्धि गराउने तथा वञ्चितीकरणमा परेका समुदायमा सेवा विस्तार गर्न कार्यक्रमहरू हुने गरेका छन् ।

विगत आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गरी श्वासप्रश्वास, झाडापखाला, दादुरा, निमोनिया, नियमित गर्भ जाँच लगायतका स्वास्थ्य सूचकाङ्कलाई अध्ययन गरी तुलनात्मक रूपमा अवस्था कमजोर भएका टोल, समुदायका विषयमा छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख रेनुकाप्रसाद काफ्ले बताउनुहुन्छ । यस्तै, उर्लाबारी नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गर्ने गरिएको छ ।

अघिल्ला वर्षहरूमा नगरपालिकाले गरेका स्वास्थ्यका कार्यक्रम र त्यसले समुदायमा पारेको समग्र प्रभाव, नगरपालिकाले गरेका उपलब्धि र पूरा गर्न नसकेका कार्यक्रमका बारेमा समीक्षा गर्ने गरिएको काफ्लेले बताउनुभयो । र, गत वर्ष कार्तिक २६ गते उर्लाबारी ७ मा कहालीलाग्दो आगलागी घटना भयो । सो घटनामा परी दुई दर्जन व्यक्ति घाइते भए भने गम्भीर अवस्थाका पाँच जनाले जीवनकै आहुति दिए । त्यो भयावह अवस्थामा कति पनि विचलित नभई उर्लाबारी नगरपालिकाले निर्वाह गरेको अभिभावकीय भूमिका स्मरणीय छ ।

मृतकको दाहसंस्कारको चाँजो मिलाउनेदेखि घाइतेको उपचार, जलनका विशेषज्ञ चिकित्सकसहितको टोली ल्याएर घाइतेहरूको पटक पटक फलोअपमा नगरपालिकाले अतुलनीय कार्य गरेको विदितै छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख राजधानीको कीर्तिपुरस्थित नेशनल बर्न हस्पिटल नै पुगेर घाइतेहरूको उपचारमा कमी हुन नदिन सक्रियपुर्वक लागि परेका थिए । सो आगलागी घटनामा नगरवासी नागरिकको उपचारका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्ने, नगरपालिकाबाट थप आर्थिक व्यवस्थापन व्यहोर्ने लगायत कार्यमा उर्लाबारी नगरपालिकाको भूमिका नागरिक तहबाटै प्रशंसित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्