तेस्रो पटक नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त


नयाँदिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । शुक्रवार उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । उनले शपथ भने आइतबार लिनेछन् । शुक्रवार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यसपछि मोदीले नयाँ सरकार बनाउने दाबी राष्ट्रपति समक्ष पेस गरेका थिए ।

राष्ट्रपतिसँग भेटपछि मोदीले आफूलाई राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ । नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबारसम्म राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सूची पठाउने बताएका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०१४ मा प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी २०१९ मा प्रधानमन्त्री बने । भाजपा नेता मोदी सत्तारुढ गठबन्धन एनडीएले हालैसम्म लोकसभा चुनावमा बहुमत ल्याएपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ । यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यति बेला भाजपाको एकल बहुमत थियो । तर, यस पटक भने भाजपाले एकल बहुमत ल्याउन नसकेकाले गठबन्धनका दलहरू महत्त्वपूर्ण भएका छन् । त्यसैले मोदी कमजोर प्रधानमन्त्री बन्ने विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्