श्रीमान् खजुमको कविता सङ्ग्रह ‘तक्सङ माइली’ को विमोचन


किशन शाही – केराबारी । पूर्वी नेपालको लिम्बूवानी क्षेत्रमा बोलिने भाषा संस्कार संस्कृति, जीवनशैली लवज र मिथकहरूलाई समेटेर तयार पारिएको श्रीमान् खजुमको कविता सङ्ग्रह ‘तक्सङ माइली’ को शनिवार एक कार्यक्रम गरी विमोचन गरिएको छ । १५,२० वर्ष अघि भित्ते पत्रिका प्रकाशन सँगै हवाई पत्रिका मार्फत साहित्यिक यात्रा सुरु गरेका कवि श्रीमान् खजुम लिम्बूले २०७७ सालदेखि रचना गर्दै सो कविता सङ्ग्रह मोरङको पर्यटकीय क्षेत्र जेफालेमा विमोचन गरिएको हो ।

आफ्नै भूगोल र परिवेश भित्र भएका घट्नालाई समेटेर तयार पारिएको तक्सङ माइली’ कविता सङ्ग्रह कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहित्यकार मुकुन्द प्रयास, वक्ता तथा साहित्यकारहरू राज माङलाक, केजी सुब्बा,दिवा चेम्जोङ लगायतले संयुक्त रूपमा कृतिका लोकार्पण गर्नुभएको थियो । पछिल्लो समय साहित्यिक कार्यक्रमको हब बन्दै गइरहेको मोरङको पर्यटकीय क्षेत्र जेफालेमा विमोचन भएको सो कृति पूर्वीय साहित्यमा नयाँ आयामको रूपमा काम गर्ने बताए । समालोचक केजी सुब्बाले तक्सङ माइली कविता सङ्ग्रह पहिचानका लागि सशक्त आन्दोलनको एउटा रूप भएको बताउनुभयो ।

कतिपय नश्लिय चिन्तनवादी साहित्यकारहरूले तक्सङ माइलीलाई कविता सङ्ग्रहको रूपमा स्वीकार नगर्लान् तर यो पूर्वीय साहित्यको लागि नवीन आयाम हो उनले भने, गाउँले परिवेशमा हुर्किएकी तक्सङ बस्तीकी तक्संङ माइली र गैरी गाउँको टाँकीबुङे जेठा बिच भएको वियोगान्त प्रेमकहानीलाई कविता मार्फत उतार्ने प्रयास गरिएको छ।
त्यसै गरी अर्का वक्ता एव साहित्यकार राज माङलाकले तक्संग माइली उत्तरीवर्ती सोच सँगै नेपाली साहित्यको लागि नौलो आयाम रहेको बताउँदै यसले स्थानीय परिवेश, भूगोल र भाषा संस्कृतिलाई समेटेको बताउनुभयो । नेपाली साहित्यमा टिपिकल भाषा ,संस्कार र लवजहरू मार्फत पनि नयाँ आयाम दिन सकिन्छ भन्ने ध्येयका साथ याक्थुम्बाहरुले प्रयोग गर्ने भाषा, संस्कार, संस्कृति, मुन्धुम सँगै कृतिमा पात्रहरूले स्थानीय हाटबजार मेला पर्वमा घुमेका डुलेका स्मरणीय घट्नाहरुलाई समेटेर प्रेम कहानीका रूपमा प्रस्तुत गरेकाले पनि कृति राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

कविता सङ्ग्रहमा विभिन्न मेरो बाल्यकाल, तक्संग माइलीसँग चिनजान, अन्तिम चिठी, कोक्मा अन्तरीसँग विवाह, टाँकीको रुख, सौर्य बजारको साँघुरो बाटोमा जस्ता २३ ओटा कविता समावेश गरिएको छ । याक्थुम लेखक संघ धनकुटाको आयोजनामा भएको सो लोकार्पण कार्यक्रम संघका अध्यक्ष कविन तुम्बापोको सभापतित्व र मुकुन्द प्रयासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कृतिको लोकार्पण सँगै जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी, केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बूले शुभकामना व्यक्त गर्नुभएको थियो । कृति विमोचन कार्यक्रममा चौबिसे गाउँपालिका ४ का वडाध्यक्ष लोकेन्द्र मगर, ८ का वडाध्यक्ष धनबहादुर लिम्बू लगायत धनकुटा पाँचथर,मोरङ लगायत विभिन्न ठाउँबाट साहित्यिक स्रष्टाहरू जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्