केराबारी ९ भलुवामा अस्थायी प्रहरी चौकीको समुद्घाटन समारोह सम्पन्न


केराबारी । केराबारी गाउँपालिका वडा नं.९ मा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । शुक्रवार वडा नं.९ स्थित भलुवामा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाद्वारा औपचारिक समुद्घाटन भएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै भलुवामा स्थायी प्रहरी चौकी निर्माण तर्फ अग्रसर हुन आग्रह गर्दै आवश्यक सहयोग गर्ने सापकोटाले बताएका छन् । प्रहरी चौकीबाट जनताको सुरक्षामा कुनै लापरबाही छुट नहुने बताउँदै प्रहरीबाट कुनै गैर-क्रियाकलाप भए सोझै उनलाई फोन मार्फत जानकारी प्रदान गर्न सापकोटाले आग्रह गरे । सापकोटाले भने, “प्रहरी भनेको जनताको आवश्यकता भन्दा बाहिर जानसक्दैन । शान्ति सुरक्षाको लागि प्रहरीले कानुनको प्रयोग गर्छ तपाईँहरूले साथ दिनुहोस् । स्थानीयको सहयोग भए मात्र गैर-कानुनी क्रियाकलाप निश्चेत गर्न सफल हुने छौ ।”

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह लगायत अस्थायी प्रहरी चौकी स्थापना गर्न सहयोग पुराउने सबैलाई धन्यवाद प्रदान गरेका छन् । सबैको साथ सहयोगसँगै विशेष गरी प्रहरी वरिष्ठ उपरीक्षक सापकोटाको सहयोग र सक्रियताको कारण वडा नं.९ भलुवामा अस्थायी प्रहरी चौकी स्थापना गर्न सम्भव भएको जानकारी गराउँदै धन्यवाद प्रदान गरे । वडा नं.२ सिंहदेवी र ४,५,६ वडालाई समेट्ने गरी दुई स्थानमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरिरहेको अध्यक्ष मिरिङचिङले जनाकारी दिएका छन् ।

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै उपाध्यक्ष मनमाया मगरले लागु औषध दुर्व्यसन विरुद्धको कार्यक्रम प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिरहेको जनाइन । अस्थायी प्रहरी चौकी स्थापनाको अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नवराज कार्की, केराबारी गाउँपालिकाका पूर्व अध्यक्ष रोहित कार्की, नेकपा एमाले केराबारी गाउँपालिकाका अध्यक्ष भिम कार्की, केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा, समाजसेवी शिव लामिछाने लगायतले शुभकामना प्रदान गरे थिए ।

गोविन्द शाहीले केराबारी ९ को पृष्ठभूमि र वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । समुद्घाटन समारोह व्यवस्थापन तथा सहजीकरण समितिको व्यवस्थापन र अस्थायी प्रहरी चौकी केराबारी ९ को आयोजनामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्