रवि लामिछानेमाथि कारबाहीको माग गर्दै धनराज गुरुङद्वारा सभामुखलाई निवेदन


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुख समक्ष निवेदन दिएका छन् । उनले ‘सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसद्को अवहेलनामा कारबाही गरी पाऊँ’ भन्दै सोमबार निवेदन दिएका हुन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लामिछानेले रातो पासपोर्ट दुरुपयोगको प्रसङ्ग उठाएका थिए । सो प्रकरण गुरुङसँग सम्बन्धित छ । उनले निवेदनमा अदालतले गरेको फैसलामाथि अवहेलना गरेको, आम नागरिकमा भ्रम सिर्जना गरेकाले अदालत भन्दा पनि आफू माथि रहेको गृहमन्त्रीको अभिव्यक्तिबाट देखिएको उल्लेख गरेका छन् । गृहमन्त्रीको अनैतिक कुराले संसद्को अवहेलना हुन पुगेकाले सो कुराको पुष्टि गर्न समेत गुरुङले चुनौती दिएका छन् ।

‘अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको बर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतबाट सफाइ पाइसकेको रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकमा भ्रम सिर्जना गर्न खोजेको, आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति दिएको ब्यहोरा स्मरण गराउन चाहन्छु,’ उनले सभामुखलाई पठाएको पत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्