मोरङ । मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्याको अभियुक्त पदमबहादुर तामाङ पक्राउ परेको छ । सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोल निवासी ५० वर्षीय तामाङले ४५ वर्षीय श्रीमती मनमाया तामाङको हत्या गरेर फरार भएका थिए ।
आज शुक्रवार साँझ स्थानीयले पदमलाई देखे पछि पक्राउ गरी प्रहरीलाई बुझाएको हो । पदम अहिले इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार करिब बिहान ७ः२० बजे मनमायाको शव घरभित्रै फेला परेको थियो ।