कानेपोखरी गाउँपालिकाको स्वास्थ्य कार्यक्रमबाट हजारौँ स्थानीय लाभम्बित : थप स्वास्थ्य सेवा विस्तार गर्दै


कानेपोखरी । कानेपोखरी गाउँपालिकाले विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमहरू मध्य एक कार्यक्रम रहेको छ नागरिक उपचार साहयता कोष ।

यस कार्यक्रमबाट हजारौँ स्थानीय नागरिकले स्वास्थ्य उपचार सहयोग प्राप्त गरेका छन् । गत आर्थिक वर्षमा १ हजार १ सय २५ जनाले रु.७८ लाख र यस आर्थिक वर्षमा रु.३० लाख विनियोजित बजेटमा रु.२३ लाख ५० हजार बराबरको उपचारार्थ सहयोग प्रदान गरेको कानेपोखरी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार यस कोष अन्तरगत क्यान्सर, मृगौला प्रत्यारोपण तथा डायलिसिस, मुटु शल्यक्रिया, पक्षघात लगायतका गम्भीर बिरामीलाई रु.३० हजारसम्मको उपचारार्थ सहयोग प्रदान गर्दै आएको छ । साथै गत आर्थिक वर्ष देखी मासिक रूपमा रु.५ हजार पनि प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । गम्भीर प्रकृतिको बिरामीमा क्यान्सर बढ्दो रहेको स्वास्थ्य शाखाका प्रमुख उदयकान्त सेढ बताउँछन् । उदयका अनुसार ब्लड क्यान्सरसहित स्तन, पाठेघर क्यान्सरको महिला बिरामी बढ्दो रहेको छ ।

अन्य साधारण बिरामीहरूलाई यस आर्थिक वर्ष देखी रु.८ हजार ५ सयसम्म प्रदान गर्न सुरु गरेको छ । गत आर्थिक वर्षमा रु.७ हजार प्रदान गर्दै आएकोमा संशोधन गरेर रु.८ हजार ५ सय प्रदान गर्न सुरु गरेको गाउँपालिकाले जनाएको हो । बिमा नगरेको भए रु.३ हजार ५ सयको ५ जनाको बिमा गरेर बाकी रकम नगद प्रदान गरी रहेको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनाम बताउँछिन् ।

गाउँपालिकाले यस आर्थिक वर्ष देखी स्थानीय नागरिकलाई स्वास्थ्य बिमा सुविधा वडा वडामै उपलब्ध गराएको छ । ४४ हजार जनसङ्ख्या रहेको कानेपोखरी गाउँपालिकामा ७ वटा वडाका स्थानीयले यस आर्थिक वर्ष देखी वडा कार्यालयबाटै स्वास्थ्य बिमा गर्न पाउने सुविधा रहेको अध्यक्ष इङ्गनामले बताइन । नागरिकलाई स्वास्थ्य सेवा प्रदान साथै स्वास्थ्य क्षेत्रको विकासको लागि गाउँपालिकाले प्राथमिकताका साथ ठुलो रकम लगानी गरिरहेको इङ्गनाम बताउँछिन् ।

गाउँपालिकाले घरेलु प्याड उत्पादनको लागि तालिम प्रदान गर्नुको साथै उपकरण पनि प्रदान गरेको स्वास्थ्य शाखाले जनाएको छ । गत आर्थिक वर्ष रु.७ लाख बराबरको स्वास्थ्य स्वयम सेवीलाई प्याड निर्माण उपकरण र तालिम प्रदान गरेको स्वास्थ्य शाखाका प्रमुख उदले बताए । यस आर्थिक वर्ष पनि रु.५ लाख, सामाग्री प्रदानको लागि बजेट विनियोजन गरेको उदय बताउँछन् । उदयका अनुसार गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई खोप, दादुरा रुबेला खोप अभियान, पालिका स्तरीय पोषण कार्यक्रम, स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू लगायतका स्वास्थ्य कार्यक्रमहरू गरी रहेको छ ।

स्वास्थ्य आमा स्वास्थ्य बच्चा कार्यक्रम पनि सञ्चालनमा रहेको छ । स्वास्थ्य शाखा प्रमुख उदयका अनुसार यस कार्यक्रम अन्तरगत गर्भवती महिलालाई निःशुल्क फोलिक एसिड र क्याल्सियम ट्याब्लेट प्रदान भइरहेको छ । साथै ९८ प्रकारका औषधी पालिकाले उपलब्ध गराइरहेको कानेपोखरी गाउँपालिका अस्पतालले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भवती महिलालाई नियमित चेकजाँच तथा उपचार गराउने उद्देश्यले निःशुल्क झुल प्रदान गर्दै आएको छ । साथै सुत्केरी महिलालाई रु.५ हजार प्रोत्साहन रकमसँगै बच्चा र आमालाई न्यानो कपडासहितको झोला प्रदान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

नसर्ने रोग अन्तरगत, सुगर, प्रेसरको परीक्षण गरी निःशुल्क औषधी प्रदान गर्दै आएको कानेपोखरी अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र कुमार राज भण्डारी बताउँछन् । साथै क्षयरोग बिरामीलाई निःशुल्क उपचारको व्यवस्था रहेको भण्डारीले जनाएका छन् ।

अस्पतालमा २ जना एम.बिबि.एस डाक्टरसहित २४ घण्टा इमरजेन्सी सेवा, दैनिक यु.यस.जी, ओ.पी.डी, ल्याब, एक्स–रे सेवा, उपलब्ध गराउँदै आएको भण्डारीले जनाएका छन् । अस्पतालले महिनाको तेस्रो शुक्रवार मानसिक रोग विशेषज्ञ सेवा बिहान ११ बजे देखी बेलुका ६ बजे सम्मा प्रदान गर्दै आएको छ ।

साधारण शल्यक्रिया सेवा पनि चाडै सुरु गर्ने भण्डारी बताउँछन् । भण्डारीका अनुसार गाउँपालिकाले १ सर्जनको विज्ञापन पनि सार्वजनिक गरिसकेको छ । साथै मुटु रोग विशेषज्ञ सेवाको तयारी पनि गरिरहेको भण्डारीले जनाएका छन् ।

५ शय्याको सञ्चालनमा रहेको अस्पताल छेउ पूर्वमा १५ शय्याको अस्पतालको भवन पनि निर्माणाधीन रहेको छ । साथै कानेपोखरी गाउँपालिका वडा नं.२ मा गत आर्थिक वर्ष देखी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।

(निर्माणाधीन कानेपोखरी गाउँपालिका अस्पताल भवन)

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्