सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार


मोरङ । मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीय मनमाया तामाङको हत्या गरेर श्रीमान् फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार हत्यापछि मनमायाका पति ५० वर्षीय पदमबहादुर तामाङ फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर फरार रहेका पदमबहादुरको खोजी तीव्र पारेको छ । डिएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा बिहीबार बिहान ७ः२० बजेतिर मनमायाको शव घरभित्रै फेला परेको हो । सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको छ जानकारी दिँदै, उनले भने, ‘कम्मरदेखि माथिको भागमा कपडा थिएन ।’

उनका अनुसार प्रहरी घटनास्थलमा पुग्दा शव भेटिएको कोठाको ढोका खुला थियो । पत्नीको हत्यापछि कोठा खुलै राखी भागेका पदमबहादुर अहिलेसम्म सम्पर्कविहीन रहेको जानकारी बस्नेतले बताएका छन् । घटनाबारे छोरी रत्ना तामाङले प्रहरीलाई जानकारी गराएकी हुन् । लगत्तै प्रहरी चौकी गछिया र अस्थायी प्रहरी पोस्ट बलियाबाट संयुक्त टोली घटनास्थल पुगेको थियो । हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला भेटिएको प्रहरीले जानकारी दिएको छ । बस्नेतले भने, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरे जस्तो देखिन्छ ।’ उनका अनुसार हत्या बुधवार राति नै भएको हो ।

उनका अनुसार पदमबहादुरले छोरी रत्नालाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर फोन गरेको पाइएको छ । बिहान पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेको र बुबा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई खबर गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए ।

छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी बस्नेतका अनुसार मदिरा सेवन गरेर पत्नीसँग बारम्बार झैझगडा गर्ने गरेको जानकारी स्थानीयले दिएका छन् ।

‘मदिरा सेवन गरेर पदमबहादुरले कुटपिट गर्न थालेपछि मनमाया साँझ ६ बजेतिर छिमेकीको शरणमा पुगेकी रहिछन् । फेरि केही समयपछि आफ्नै घर फर्किछन्,’ उनले भने, ‘मनमाया घरमा पुगेपछि पति र पत्नीबिच झैझगडा भएको छिमेकीले सुनेका रहेछन् । भोलिपल्ट बिहान घरभित्रै शव फेला परेको छ ।’ कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी डिएसपी बस्नेतले दिए । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रस्ट हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्