पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने


पथरी । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ । पथरी ११ फुटबल क्लबको आयोजनामा जेठ १२ देखि २१ गतेसम्म ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे फुटबल गोल्डकप प्रतियोगिता – २०८१’ हुन लागेको हो ।

आयोजक पथरी—११ ले आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । प्रतियोगितामा ‘ए’ डिभिजनको चारसहित ९ र भारतको एक गरी १० वटा टिम सहभागी गराइने आयोजक समितिको संयोजक सुमन विकले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः ४ र २ लाख नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिको सचिव मणि लुम्फुवा लिम्बुले बताए ।पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, स्थानीय युवा नेता विक्रम लिम्बू, समाजसेवी गीतकार गणेश थक्लुङ लिम्बूले शुभकामना दिएका थिए ।

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे नगरबाट खेलको विकास गर्दै ‘ए’ डिभिजन क्लबमा खेलिरहेका फुटबलर साइमन लिम्बू, मीन धिमाल, पूर्व खेलाडीहरू जोन सुब्बा, आयोजक समितिको कोषाध्यक्ष टाववन राई, रोशन पराजुली, रोशन मादेम्बा लगायतको उपस्थिति रहेको थियो ।

गोल्डकप सम्पन्न गर्न ४० लाख ८५ हजार अनुमानित आम्दानी र खर्च विवरणसमेत प्रस्तुत भएको छ । पथरीमा यस अघि दुई वटा गोल्डकप फुटबल प्रतियोगिता र दुई वटा पथरीशनिश्चरे नगर स्तरीय फुटबल प्रिमियर लिग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्