काँग्रेसभित्रको विवाद नमिलेपछि उम्मेदवार डम्बर खड्का तनावमा


इलाम। इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचन नेपाली काँग्रेसलाई पुनः फलामको चिउरासरह हुने देखिएको छ ।

केन्द्र तहदेखिका नेता लाग्दासमेत जिल्लाको पार्टीभित्रको आन्तरिक किचलो साम्य हुन नसकेपछि उम्मेदवार डम्बर खड्का ज्यादै चिन्तित भएका छन् । पार्टीभित्रको विवाद मिलाउन गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइराला, भीष्मराज आङ्देम्बे, धनराज गुरुङले धेरै प्रयास गर्दा पनि दुवै पक्ष आन्तरिक रूपमा टसमस हुन नसकेपछि विवाद नमिलेको काँग्रेस जिल्ला तहका एक नेताले जानकारी दिए ।

‘अब पनि काँग्रेसले २ नम्बर क्षेत्रमा झन्डा फहराउने सङ्केत देखिएन,’ ती नेताले भने, ‘स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवार हार्दा झलनाथ खनालले गाली गरेपछि चिढिएको काँग्रेसले पछि खनाललाई नै क्षेत्र नम्बर १ मा हराएर स्वाद चखायो, अबको उपनिर्वाचनमा डम्बर खड्को स्थिति त्यही हुनेछ ।’

२०७९ साल मंसिर ४ मा भएको निर्वाचनमा हार बेहोरेपछि आफैँले आफ्नै पार्टीका अरू नेतालाई गरेको पाँडे गालीले खड्कालाई अहिले भतभती पोल्न थालेको छ । केन्द्रीय तहका नेताले इतर नेतालाई आफ्नो चुनावी सभासम्म जाने वातावरण बनाइदिए पनि भावनात्मक हिसाबले भित्रैबाट भोट मागिदिने, नेता–कार्यकर्ता परिचालन गर्ने अवस्था नवेपछि खड्का तनावमा छन् । चुनावी सभाहरूमा पनि उनको अनुहार सधैँ मलिन देखिन थालेको छ ।

आफूले आरोप लगाएकै नेता यो उपनिर्वाचनमा पनि उम्मेदवारको आकाङ्क्षी थिए । तर पार्टी सभापति शेरबहादुर देउवाको बलमा सबैलाई पाखा लगाउँदै डम्बर खड्काले नै पुनः टिकट हात पारेपछि काँग्रेसको क्षेत्र नम्बरको २ को ठुलो टिम अहिले पनि असन्तुष्ट छ । असन्तुष्ट टिम अहिले पनि काँग्रेसलाई भन्दा बरु घण्टीमा भोट हाल्ने भन्दै डम्बरलाई हिजोको आरोपमा पश्चात्ताप गराउन खोज्दै छ ।

इलाम बजारकै एक काँग्रेस नेता यस पटक पनि खड्का पराजित हुने ठोकुवा गर्छन् । उनी भन्छन्, ‘डम्बरमा राजनीतिक व्यवहार देखिएन, हार्ने बित्तिकै आफ्नै पार्टीका नेतालाई धम्क्याउने, पैसा खाएर हराएको आरोप लगाउनेलाई फेरि किन हामीले भोट हालिदिनुपर्ने, कि घण्टीमा हालिन्छ, कि सुहाङलाई पो हालिन्छ ।’

अहिले यसो भन्ने मतदाता काँग्रेसभित्र धेरै छन् । खड्कालाई टिकट नदिन काँग्रेसको केन्द्रीय समितिमा महामन्त्री गगन थापालगायत शेखर कोइराला टिमले ठुलो प्रयत्न गरेको थियो । तर देउवाले जबरजस्ती निर्णय गराएपछि बाध्य भएर गगन थापासमेत डम्बरको चुनावी सभामा आइदिए पनि खुलेर भोट मागिदिन सकेनन् । काँग्रेसको शेखर पक्षका एक इलामे नेता भन्छन्, ‘गगनजी बाध्य भएर पार्टीका लागि भोट माग्दै हुनुहुन्थ्यो, यो बाध्यता उहाँले इलाम आएरै पनि व्यक्त गर्नुभएकै हो । भित्रैदेखि रुखमा भोट माग्न र भोट हाल्न काँग्रेसमा अहिले धेरैलाई सकस छ ।’

०७९ सालको निर्वाचनमा पराजित भएपछि खड्काले दिएको अभिव्यक्ति र आफ्नै दलका इतर समूहप्रति आगो ओकले । चुनावको समीक्षा गर्न आयोजित बैठकमा आफ्नै दलका अर्को पक्षका नेता–कार्यकर्ताले धोका दिएको भन्दै खड्का धरधरी रोए । उनले आफूले पठाएको चुनाव खर्च आफ्नै पार्टीका नेता–कार्यकर्ताले खाइदिएर मतदातासम्म नदिएको पनि आरोप लगाउन भ्याए । ‘मलाई काखमा राखेर छुरा रोपिएको’ भन्दै उनी रोए ।

त्यो निर्वाचनमा आफू हार्ने अवस्था आएपछि खड्काले मतगणना स्थलमै खड्काले दलको अर्को खेमाका नेता–कार्यकर्तालाई सबैले सुन्ने गरी कतिपयको नामै किटेर गाली गरे । खड्काको यो अभिव्यक्तिले इलामका काँग्रेस चिढिएका छन् । खड्काको व्यवहारले उनकै पार्टीका कतिपय नेता–कार्यकर्ता खड्का पराजित भएकैमा खुसी देखिए । पार्टीभित्रको किचलो सार्वजनिक झगडामै परिणत भयो । यो पटक उपनिर्वाचन आउन लाग्दासम्म त्यो किचलो साम्य हुन नसकेको उदाहरण अस्ति चुलाचुलीमा उम्मेदवार छनौट क्रममा छताछुल्ल पोखियो ।

‘पार्टी सभापतिजस्तो मान्छे, हारजित जे भए पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएको मान्छेले पराजित हुँदैमा आफ्नै पार्टीका नेता–कार्यकर्तालाई तल्लो स्तरको गाली गर्न हुने थिएन,’ एक नेताले भने, ‘त्यसको सोझो असर अबको उपनिर्वाचनमा पर्छ । खड्का आफैँले आफ्नै नेता–कार्यकर्तामाथि रोपेको बचनको छुराको घाउ आलै छ, मेटिएको छैन ।’

यही किचलोका कारण यस पटक पनि खड्कालाई उपनिर्वाचनको टिकट ल्याउन निकै हम्मे भयो । उम्मेदवार छान्ने सबैभन्दा तल्लो तह निर्वाचन क्षेत्रीय समितिको चुलाचुलीमा बसेको चैत ६ को बैठकमा काँग्रेसका दुई खेमाबिच चर्को विवाद र ठेलमठेल भयो । सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रको बैठकबाट आकाङ्क्षी सात जनाको नाम काँग्रेसले जिल्लामा पठायो ।

जिल्लाले केन्द्रमा नाम पठाएपछि यतिसम्म भयो कि, इलाममा हुने उपनिर्वाचनको उम्मेदवार छान्न काँग्रेसको संसदीय बोर्ड बैठकमा केन्द्रका दुई खेमबाबीच बैठक बहिष्कारसम्मको अवस्था आयो । सभापति शेरबहादुर देउवाले खड्काको र महामन्त्री गगन थापाले भेषराज आचार्यको नाममा अडान लिएपछि बोर्ड बैठक पटक–पटक बिनानिष्कर्ष टुङ्गियो । अन्ततः देउवाकै अडानमा खड्का उम्मेदवार बने ।

उपनिर्वाचन हुन लागेको इलाम क्षेत्र २ मा देउवा पक्षको प्रभाव शेखर कोइराला पक्षको भन्दा कमजोर छ । यो निर्वाचन क्षेत्रका पाँच पालिकामध्ये इलाम नगरपालिकाका मेयर केदार थापा र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसमेत काँग्रेसकै छन् । तर, उनीहरू दुवै देउवाइतर हुन् । यो क्षेत्रका काँग्रेस क्षेत्रीय सभापति डिकेन्द्र इदिङगो पनि देउवाइतर नै हुन् भने इलामबाटै कोशी प्रदेशको मन्त्रीसमेत रहेका काँग्रेसका प्रभावशाली युवा नेता समशेर राईसमेत देउवा खेमाका होइनन् । स्रोतका अनुसार उनीहरू सबै यस पटक काँग्रेसको टिकट खड्कालाई दिनुपर्ने पक्षमा थिएनन् ।

खड्का उम्मेदवार बनेपछि काँग्रेसभित्रको शेखर पक्षका धेरै नेता–कार्यकर्ता अहिले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । जिल्ला तहका कतिपय काँग्रेस नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा समेत असन्तुष्टि व्यक्त गरे । कतिपय कांग्रेसजनले नै आफ्नो पार्टी अबको निर्वाचनमा कमजोर हुने चिन्तासमेत व्यक्त गरे ।

उसो त २०७९ सालको चुनावमा पनि डम्बर काँग्रेससहित धेरैवटा पार्टीको गठबन्धनको उम्मेदवार थिए । तर एमाले उम्मेदवार सुवास नेम्बाङले सबै दललाई हराइदिए । खड्का अहिले एक्लै चुनावमा भिड्दै छन् । २०७९ सालको मत विश्लेषण गर्दा अहिलेका एमाले उम्मेदवार सुहाङ नेम्बाङभन्दा काँग्रेसका डम्बर खड्का करिब ११ हजार मतले पछाडि छन् । यो ११ हजार मत क्रस गर्ने सम्भावना नभएपछि खड्का निराश हुँदै गएका छन् ।

खड्का २०७४ सालको निर्वाचनमा पनि क्षेत्र २ को प्रदेश क्षेत्र ‘क’बाट एमालेका राम रानासँग हारेका थिए ।

प्रतिक्रिया दिनुहोस्