धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण


धनकुटा । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको संख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउने गर्छ,’ नगर प्रमुख तामाङले भने, ‘पशुअधिकारका कारण कुकुर मार्न पनि नमिल्ने भएकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’

रातको समयमा पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई कुकुरले लखेटेर समस्या पार्ने गरेको गुनासो आउने गरेको छ । बेलाबेला भुस्याहा कुकुरले मान्छेलाई टोकेर आतङ्क मच्चाउने गरेको छ । यस्तो समस्या रोकथामका लागि पाँच दिन लगाएर कुकुरको बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । उनका अनुसार बन्ध्याकरणसँगै कुकुरहरूलाई रेबिज रोग विरुद्धको खोप लगाएर छोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्