सहकारी चोरीमा संलग्न ६ जना पक्राउ


झापा। सहकारीहरू चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्लाको विभिन्न स्थानमा रहेको सहकारीहरू चोरीमा संलग्न ६ जना पक्राउ परेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाका ईन्द्रसरोबर गाउँपालिका वडा नं. ५ का ३० वर्षका सोमलाल स्याङ्तान, २१ वर्षका सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका वडा नं. ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् । पक्राउ परेका उनीहरूले विभिन्न मिति र समयमा १३ वटा सहकारीहरू योजनाबद्ध तरिकाले चोरी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई इटहरीको विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा वैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकासँग मोटरसाइकल २ थान, सहकारी चोरीमा प्रयोग गरेको विभिन्न औजारहरू र उनीहरूले उक्त समयमा प्रयोग गरेको कपडा समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूले विभिन्न सहकारीहरूबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरी गरेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्