नयाँ वर्षको शुभकामना आदानप्रदान, खेलकुद सामाग्री वितरण साथै खेलाडी सम्मान कार्यक्रम सम्पन्न


बेलबारी । नेपाल खेलकुद महासङ्घ बेलबारी नगर कमिटीको आयोजनामा नयाँ वर्ष २०८१ को आसवरमा शुभकामना आदानप्रदान तथा खेलकुद सामाग्री वितरण साथै खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बेलबारी नगरपालिका वडा नं.१ म रहेको सांस्कृतिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल खेलकुद महासङ्घका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश सह–इन्चार्ज रोहित कोइरालाद्वारा ब्यानर पढेर औपचारिक उद्घाटन भएको थियो । कोरालाईले कार्यक्रममा शुभकामना प्रदान गर्दै बेलबारी नगर कमिटीको कार्यको प्रशंसा गरेका छन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सिता तामाङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य ईरान राई, नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य शीतल राय, नेकपा एमाले जिल्ला कमिटी सदस्य योगेन्द्र सुवेदी र नेकपा एमाले बेलबारी नगरपालिकाका अध्यक्ष शङ्कर गुरुङले शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा बेलबारी निवासी दुई फुटबल खेलाडीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सहिद स्मारक ए डिभिजन लिग विजेता बन्दै राष्ट्रिय टोलीमा पर्न सफल फुटबल खेलाडी विवेक पौडेल र सहिद स्मारक ए डिभिजन लिग विजेता बन्दै नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेर बेलबारीको गरिमा उच्च बनाएकोमा मौसम लिम्बुलाई प्रशंसा पत्र प्रदान गरेको नेपाल खेलकुद महासङ्घ बेलबारी नगर कमिटीका अध्यक्ष डम्बर श्रेष्ठले बताएका छन् ।

साथै केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा सहभागी भई आई.टि.एफ तेक्वान्दो विधामा स्वर्ण पदक प्राप्त गरेकोमा मञ्जित राजवंशीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा बेलबारीका ११ वटा वडाका खेलाडीहरूको लागि विभिन्न खेलकुद टोलीलाई फुटबल साथै भलिबल प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्