२१ हजार घुससहित कार्यवाहक वडा अध्यक्ष पक्राउ


मोरङ, ४ मङ्सिर / घुस सहित जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई मङ्गलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । वडा कार्यालयमै २१ हजार रुपैयाँ लिँदै गर्दा साहलाई आयोगले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालका अनुसार सडक स्तरोन्नतिको लागि रु.२ लाखको योजना सम्झौता गर्ने क्रममा साह पक्राउ परेको हो ।

सो वडाका अध्यक्ष प्रदीप यादव हत्या आरोपमा फरार भएपछि साहलाई कार्यवाहक दिइएको थियो । विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते कुटपिटको कारण असार २७ गते मृत्यु भएको थियो । सोही घटनामा संलग्न यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जी समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्