धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।
मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउन यो सडक कोसेढुंगा साबित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरवासी भएको महसुस गर्नुहुनेछ ।’
७.१ किलोमिटर लामो सो सडक विश्व बैङ्कको सहयोगमा ३२ करोड ७२ लाख ३ हजार ७१८ रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १५ महिना अर्थात् आर्थिक वर्ष २०८२/०८३ मा काम सक्ने गरी आशिष् आशीर्वाद स्वामीनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ ।
तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत बताउँछन् । सडक कालोपत्रे गर्ने काम सुरु भएपछि भीरगाउँवासी हर्षित भएका छन् ।