पेस्तोल सहित लुटपाटमा संलग्न १ जना पक्राउ


भोजपुर । भोजपुरको षडानन्दबाट लुटपाटमा संलग्न १ जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार षडानन्द वडा नं.९ बाट आइतबार बेलुका ८ बजे टेम्के मैयुङ गाउँपालिका– १ का ३७ वर्षीय सुमित भन्ने सुमन परियार पक्राउ परेको हो ।

षडानन्द ९ मा रहेको जङ्गलमा वडा नं.२ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी १ जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आइतबार सोही जङ्गलमा परियारलाई शङ्कास्पद अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियारको साथबाट लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउन्ड गोली, नगद ९ हजार ५० रुपैयाँ तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार २०७६ फाल्गुन २१ गते सङ्गठित अपराध, आपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसिबी आगजनी, राज्यविरुद्धको कसुर लगायत ५ वटा मुद्दामा कैद सजाय भुक्तान गरी २०८० भदौमा कारागारबाट छुटेको रेकर्ड रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्