बेलबारीको भगवती मा.विमा बढ्दो आकर्षण : अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म सञ्चालन हुँदै


बेलबारी । सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्छ भन्ने मानसिकताको अन्त्य गर्न अग्रसर छ, बेलबारी नगरपालिकाको एक सामुदायिक विद्यालय । त्यो विद्यालय हो, बेलबारी नगरपालिका वडा नं.३ मा रहेको भगवती माध्यमिक विद्यालय ।

विद्यालयमा औपचारिक अध्ययनसँगै, व्यवहारिक शिक्षा, खेलकुद साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमसागर ढकाल बताउँछन् । उनी भन्छन्, ‘विद्यालयमा गुणस्तर शिक्षाको लागि किताबको अध्ययनसँगै व्यवहारिक शिक्षा अनिवार्य चाहिन्छ ।’

विद्यालयमा २ वर्ष देखी अङ्ग्रेजी माध्यम पनि सुरु भएको छ । संस्थागत विद्यालयमा महँगो मूल्यमा पढ्नु भन्दा सामुदायिक विद्यालयमा न्यूनतम सहयोग शुल्क तिरे, पूर्ण अङ्ग्रेजी माध्यममा पनि पढ्न पढाउन पाए पछि अहिले भगवती प्रति आकर्षण बढेको छ ।

अङ्ग्रेजी माध्यमका संयोजक जनक लिम्बुका अनुसार २ साल अघि सुरुवातमा ६, ७ र ८ कक्षा मात्र सञ्चालनमा थियो । त्यस बेला विद्यार्थी ४० जना मात्र थिए भने दोस्रो वर्ष देखी नै वृद्धि भएर अहिले १२० पुगेको लिम्बुले जनाएका छन् । यस वर्ष देखी कक्षा १० पनि सञ्चालनमा आएको लिम्बुले बताएका छन् ।

लिम्बुका अनुसार एउटा कक्षामा बढीमा ३५ जना विद्यार्थी मात्र राखिने गरिन्छ । सोही कारण यस वर्ष १७५ जनाले मात्र भर्ना हुने अवसर पाउने छन् । वैशाख ६ गते प्रवेश परीक्षा हुने लिम्बुले जनाएका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएमा मात्र विद्यालयमा भर्ना हुन अवसर पाउने लिम्बु बताउँछन् ।

विद्यालयमा अध्ययनसँगै अनुशासन प्रमुख रहेकोले विद्यार्थीले विद्यालयबाट पाउने संस्कारमा कुनै कमजोरी गर्न, शिक्षकहरूलाई छुट नहुने प्रधानाध्यापक नारायण प्रसाद आचार्य बताउँछन् । आचार्य भन्छन्, ‘महँगो मूल्य तिरेर संस्थागत विद्यालयमा जानु भन्दा भगवतीमा नै राम्रो गुणस्तर शिक्षा प्रदान गर्ने छौ । विद्यालयको भौतिक संरचनाको कारण सीमित विद्यार्थी मात्र भर्ना गर्न सक्ने भएकोले अवसरलाई सुनिश्चित गर्न, चाँडो भर्ना प्रक्रिया तर्फ अग्रसर हुन सबैलाई आग्रह गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्