कानेपोखरीमा सुरक्षित नागरिक कार्यक्रम अन्तर्गत आवासहरू बन्दै


कानेपोखरी । मोरङको कानेपोखरी ४ क्याम्पाघाटमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धमाधम आवास निर्माण कार्य सुरु भएको छ । कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा निर्माण कार्य सुरु भएको हो ।

अन्तर्राष्ट्रिय सहयोगी दाताहरूको उपस्थितिमा श्रमदानसहित निर्माण कार्य सुरु भएको छ । पालिका अध्यक्ष राजमती इङ्गनाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य वडा सदस्यहरू साथै १२ जना अन्तर्राष्ट्रिय सहयोगी दाताहरूको उपस्थितिमा श्रमदान गर्दै निमार्ण कार्य सुरु भएको छ । क्याम्पाघाटमा बसोबास गरिरहेका १५ दलित र आदिवासी परिवारका लागि १५ वटा आवास निर्माण भई रहेको पालिका अध्यक्ष राजमती इङ्गनामले बताइन ।

“एउटा गरिबलाई उसको घर अगाडी बाटो पिच भएर हुन्न उसको पहिलो आवश्यकता सुरक्षित घरमा बस्न पाउनु पनि हो । त्यसलाई नै अहिले हामी फोकस गरी रहेका छौ ।’’ उनले भनिन । एक्लैले सम्भव भएकोले त्रिपक्षीय सहकार्यमा आवास निर्माण कार्य सुरु गरेको इङ्गनामले बताइन । आगामी दिनमा पनि सहकार्यको आसा रहेको उनले बताइन ।

यस्तै पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी सुरुवाती चरणमा नै यस ठाउँमा बनाउन खोजे पनि प्राविधिक कारणले ढिला भएको जनाएका छन् । अधिकारीले अन्तर्राष्ट्रिय दाताहरूको भूमिकामा आएका विदेशी श्रमदाता पाहुनालाई श्रमदानको बारे जनचेतना समेत फैलाएकोमा खुसी व्यक्त गरे । श्रमदाता पाहुना ५ दिन रहेर आवास निर्माणमा श्रमदान गर्ने अधिकारीले जनाए ।

४ कोठा, १ शौचालय, १ भान्सा घर सहितको १५ घर बन्न लागेको हो । कानेपोखरी गाउँपालिकाको १ करोड, साहारा नेपाल मार्फत ह्याबिटेट फर ह्युमानिटी नेपालको ४० लाख गरी कुल १ करोड ४० लाख रुपैयाँ लागतमा १५ वटा गरी जम्मा २८ वटा घर हाल निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्