गोविन्द चोङ्वानको दोहोरीसंग्रह ‘मायाको सृष्टि’ को लोकार्पण


बेलबारी । लेखक गोविन्द चोङ्वानको दोहोरीसंग्रह ‘मायाको सृष्टि’ को लोकार्पण भएको छ । शुक्रवार साहित्य विकास समिति, बेलबारीको आयोजनामा र किरात याक्थुम चुम्लुङ नगर समिति, बेलबारीको सह–आयोजनामा बेलबारी नगरपालिका वडा नं.३ मा रहेको नेपाल आदिवासी जनजातिको सभाहलमा दोहोरीसंग्रह मायाको सृष्टि लोकार्पण तथा रचना वाचन कार्यक्रम गरिएको हो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यमा मायाको सृष्टि लोकार्पण गरिएको हो । कार्यक्रममा राईले शुभकामना प्रदान गर्दै गोविन्द चोङ्वानको दोहोरीसंग्रह मायाको सृष्टिले बेलबारीको साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको बताएका छन् ।

पुस्तकमा लेखिएको पालम भित्र किराँती शास्त्रीय काव्यको भाका रहेको राईले बताए । लोप हुँदै गरेको किराँतीहरूको शास्त्रीय भाका र महत्वलाई अहिले सहज रूपमा बुझ्न नसकिए पनि गोविन्द चोङ्वानको कार्य महान् रहेको राई बताएका छन् । उनले भने, ‘किरात शास्त्रीय भाकामा राई, लिम्बु, लगायत किरात समुदायहरू पछाडि पर्दै आएको छ । यस बेला याक्थुम भाषामा लेखिएको शास्त्रीय पनलाई लिपि बद्ध गर्नु महान् कार्य हो ।’

मायाको सृष्टिको खण्ड ‘क’ मा लिम्बु भाषामा ६३ वटा र खण्ड ‘ख’ मा नेपाली भाषामा ५३ वटा गीत रहेका छन् । कार्यक्रममा विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासङका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, साहित्यकार ईरान राई, पद्माकला लिम्बु लगायतको उपस्थितिमा कृति माथि समीक्षा मदन हुक्पा चोङ्वाङ, देवेन्द्र खापुङले गरे ।

कार्यक्रमको सञ्चालन साहित्य विकास समितिका सचिव उमा सिजापति पहिलो सेसन र दोस्रो सेसन कृष्ण मेन्याङ्वोले गरेका थिए । किरात याक्थुम चुम्लुङ, बेलबारीका अध्यक्ष चन्द्र कुमारी लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रम साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्व सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्