लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले दिए राजीनामा


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका छन् । उनले आज (बिहीबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । फागुन २१ गते नयाँ एमाले र माओवादीसहित पाँच दल मिनेर नयाँ गठबन्धन बनेसँगै चौधरी सरकार सङ्कटमा परेको थियो ।

नयाँ गठबन्धन बनेपछि चौधरीले गत फागुन २३ गते नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई बर्खास्त गरेका थिए । अर्थ र सहरी विकास मन्त्री रहेका दुवैजनालाई बर्खास्त गरेसँगै त्यहाँको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको थियो । त्यससँगै मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए ।

यस्तोमा मुख्यमन्त्री चौधरीसँग विश्वासको मत लिने या राजीनामा दिने दुई विकल्प थिए । यस्तोमा उनले संसद्को फेस नगरी पद त्यागेका हुन् । यसअघि बिहीबार नै लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापन मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका थिए । जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका आहिरले पदबाट राजीनामा दिएसँगै चौधरीको सङ्कट झन् बढेको थियो । नयाँ सत्ता गठबन्धनमा समावेश जसपाले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि अहिरले राजीनामा दिएका थिए । २०८० वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १९ गते विश्वासको मत लिएका थिए ।

चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो । काँग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए । एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए । पछिल्लो समय केन्द्रमा सत्तागठबन्धन परिवर्तन भएसँगै एमाले र माओवादी एक ठाउँमा उभिएका छन् । प्रदेशमा अब माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्