पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ : मन्त्री राई


धनकुटा, १८ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्दै उनले अब यो अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताए । ‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ,’ मन्त्री राईले भने, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो बोक्नु पर्ने र कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्छौ ।’

देशभरको खानेपानी समस्या समाधानका लागि द्रुत गतिमा काम गर्ने उनको भनाई छ । खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री राईले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उल्लेख गरे । अहिले गाउँ–गाउँमा विकासले गति लिँदै गएको उनको भनाई छ । तीव्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकार मात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखे ।

आफ्नो गृहजिल्ला भएकाले धनकुटालाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री राईले बताए । खानेपानीको समस्या क्रमशः हल गर्दै जाने भन्दै उनले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन् । आफू शासक नभई जनताको सेवक भएको तर्क गर्दै उनले जनताले आफूलाई दिएको मत कहिल्यै खेर जान नदिने दाबी गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राई आइतबार काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्