लागु औषध ब्राउन सुगर सहित ७ जना पक्राउ


विराटनगर । प्रतिबन्धित लागु औषधसहित ७ जना पक्राउ परेको छ । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार शुक्रवार दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका कन्काई नगरपालिका–४ का २१ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय रोशन चौधरीलाई चेकजाँच गर्ने क्रममा ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यसै गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका–७ का २९ वर्षीय उगेन दर्जीलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी बिट मेचिपुल झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.३ प ७८११ नम्बरको मोटरसाइकलमा सवार रहेका हल्दीबारी गाउँपालिका–२ का २४ वर्षीय कमल विश्वकर्मा र २० वर्षीय प्रतीक तामाङलाई १ ग्राम ६२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थितमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको इटहरी–५ का २५ वर्षीय जीवन लिम्बु र वर्षीय २६ को सुमन लिम्बुलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्