हत्याको आरोप बारे युवा सङ्घ मोरङ अध्यक्षको स्पष्टिकारण


मोरङ, ३ मङ्सिर / मोरङको कानेपोखरी गाउँपालिका वाड नं.४ निवासी मोहन सिंह थापाको हत्याको आरोपमा एक अनलाईन पत्रिकाबाट सार्वजनिक समाचार झुटो भएको युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेलले बताएका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष पौडेले थापाको मृत्युको सन्दर्भमा ‘पूर्वेली न्युज’ मा सार्वजनिक समाचार नियोजित र झुटो भएको भन्दै खण्डन गरेका हुन ।

असार २४ गते भएको थापाको मृत्युको विषयमा करिब ५ महिना पछि मङ्सिर १ गते अध्यक्ष पौडेलसँग जोडिएर पूर्वेली न्युजबाट समाचार सार्वजनिक भएको थियो । अध्यक्ष थापाले समाचारमा आत्महत्या नभई हत्या भएको र उक्त हत्यामा आफूलाई संलग्नता रहेको भनी लगाएको आरोप गलत र निराधार भएको बताएका छन् । उनले भने, ‘मृतकको पोस्टमार्टम रिर्पोट र प्रहरी अनुसन्धानले समेत कर्तव्य ज्यान नभएर आत्महत्या हो भनी प्रमाणित भइसकेको अवस्थामा आफ्नो राजनैतिक, सामाजिक र व्यक्तिगत चरित्रलाई क्षति पु-याई आफ्नो अभीष्ट पुरा गर्न प्रेषित समाचारप्रति खेद प्रकट गर्दै ‘पूर्वेली न्युज’ को प्रायोजित समाचारको खण्डन गर्दै भत्र्सन गर्न चाहन्छु ।’

 

अध्यक्ष पौडेलले प्रेस विज्ञप्ति मार्फत थापाको मृत्युको सन्दर्भमा अन्य थप अनुसन्धान आवश्यक भए सत्य तथ्य पत्ता लगाई दोषी पाइए जो कसैलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी कानेपोखरी गाउँपालिका कमिटी, लायन्स क्लब अफ कानेपोखरी, कानेपोखरी व्यापार सङ्घ र रमाइलो युवा परिवारले पनि प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् । विज्ञप्तिमा ‘पूर्वेली न्युज’ ले अध्यक्ष पौडेलको दुराग्रहपूर्ण, चरित्रहत्या गर्न कपोकल्पित समाचार लेखेको उल्लेख गर्दै घटनाको सत्य तथ्य छनविन गर्न सम्बन्धित निकायलाई माग गरेका छन् ।

 

 

सम्मेलनमा मृतक थापाको विषयमा बोल्दै कानेपोखरी गाउँपालिका प्रमुख तारा बहादुर काफ्लेले थापाको पोस्टमार्टम रिर्पोट र प्रहरी अनुसन्धानले आत्महत्या प्रमाणित गरेको हुँदा आत्महत्या नै हुनुपर्ने बताएका छन् । मोरङमा नै सबै भन्दा धेरै आत्महत्या हुने ठाउँ कानेपोखरी भएको नयाँ तथ्याङ्कले देखाएको प्रमुख काफ्लेले जनाएका छन् । २२ वटामा १६ वटा आत्महत्या कानेपोखरीमा भएको तथ्याङ्कले देखाएको उनले बताए । प्रमुख काफ्लेले घटनाको सत्य तथ्य अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्दै अनुसन्धानमा कानेपोखरी गाउँपालिको सहयोग रहने बताएका छन् ।

नवीन सामाजिक अभियन्ता, राजनीतिक कार्यकर्ता भएकोले सबै ठाउँमा पक्ष विपक्ष नछुट्टाई सहयोगी भावनाको व्यक्ति भएको प्रमुख काफ्लेले बताएका छन् । ‘पूर्वेली न्युज’ ले नवीनको विषयमा लेखेको समाचार भ्रमपूर्ण रहेको प्रमुख काफ्लेले बताए । सम्मेलनमा मृतकको परिवारका सदस्य श्रीमती मन्दिरा थापा, जेठा दाइ नरेन्द्र थापा लगायतको पनि उपस्थिति रहेको थियो ।

मृतक मोहन सिंह थापाको परिवारले के भने ?

मृतक मोहन सिंहको जेठा दाइ नरेन्द्र थापाले ‘पूर्वेली न्युज’ ले सार्वजनिक गरेको समाचारको विषयमा केही थाहा नभएको बताउँदै नवीन पौडेलको नाममा किटानी जाहेरी नदिएको बताएका छन् । नवीन पौडेललाई भाइको मृत्युको आरोप आफ्नो परिवारले केही दोष नलाएको दाइ थापाले स्पष्ट पारेका छन् ।

‘पूर्वेली न्युज’ को बारेमा नै केही थाहा नभएको बताउँदै समाचारमा आए जस्तो, पौडेलको बारेमा केही नबताएको दाइ थापाले जनाएका छन् । उनले भने, ‘कुनै फटाहाले यसो गर्न सक्छन् तर मैले गरेको छैन ।’

मृतकका श्रीमती मन्दिरा थापाले परिवार भित्र आफन्तसँगको आर्थिक लेनदेनको कारण यस्तो अवस्था सृजना भएको बताइन । मन्दिरालाई पनि उनको श्रीमानको मृत्युको आरोपमा जोडेकोमा आपत्ति प्रकट गरेकी छन् ।

नवीन पौडेलसँग मेरो नाम जोडेर बदनाम गर्न खोजेको उनले बताइन । आमाजू मुना थापाले आर्थिक कारोबारबाट फुत्किनलाई हामीलाई समाचारको माध्यमबाट बदनाम गराउन खोजेको बताइन । आमाजू थापाले आफ्नो परिवारलाई लाखै रकम दिन बाकी रहेको मन्दिरा बताउछिन । तर प्रमाण नभएको कारण रकम लिन नसकिरहेको उनले बताइन ।

श्रीमानको मृत्यु भएको छ महिना पछि मेरो भाइ मारेको भन्दै विभिन्न आरोप आमाजूले लगाउँदै आएको उनले बताइन । सम्मेलनमा श्रीमानको मृत्युको पिडामा किन अरूसँग नाम जोडेर केही पत्रकारले बदनाम गराउँदै थप पिडा दिएको भन्दै मन्दिराले प्रश्न गरेकी थिइन । अनुसन्धानमा म दोषी भेटिए आफू सजाय भोक्न तयार रहेको बताउँदै आफ्नो परिवारीक समस्याको कारण अरू कसैलाई बदनाम गराउने काम नगर्न अनुरोध गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्