१९ वर्षीय युवतीको घाँटी रेटेर बीभत्स हत्या


पाल्पा । पाल्पामा एक १९ वर्षीय युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव भेटिएको हो । मङ्गलवार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको हो । मृतक १९ वर्षीय पद्मा ख्याहा कराङ्दीका दलबहादुर र कमला सुनारकी छोरी रहेको र उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिएका छन् ।

‘उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृति हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ’, वडाध्यक्ष पोखरेलले सुनाए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकाले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरी उपरीक्षक चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ । स्थानीयले युवतीको बीभत्स हत्याको तत्काल छानबिन गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्