बेलबारीकी रेखा सुवेदीसहित ५ जना पुरस्कृत


मोरङ । बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङकी अध्यक्ष कवयित्री रेखा सुवेदीसहित ५ जना पुरस्कृत भएका छन् । सुवेदी नगद रु. ३५ हजारसहित ‘स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कार २०८०’द्वारा दोसल्ला, पुरस्कारपत्रले पुरस्कृत भएकी हुन् ।

त्यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँका प्रज्ञा–परिषद् सदस्य प्रा.डा. देवी नेपाल, असाम, भारतका स्रष्टा डम्बर दाहाल तथा सङ्खुवासभाका स्रष्टा ताराबहादुर बुढाथोकी दोसल्ला, ढाका टोपी र पुरस्कारपत्रसहित ‘भवानी मिश्र पुरस्कार’द्वारा जनही नगद रु. ३५ हजारले पुरस्कृत भएका छन् । सोही अवसरमा ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो’ लोकप्रिय गीतलगायतकी सङ्गीतकार कमला खनाल पुरस्कारपत्र, दोसल्ला र नगद रु. ३५ हजारसहित ‘साहित्य कलाश्री पुरस्कार’ले पुरस्कृत भएकी छन् ।

पाँचै जना पुरस्कृतहरूलाई प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा नेपाल पत्रकार महासङ्‌घका संस्थापक महासचिव चन्द्र भण्डारी भण्डारीले पुरस्कृत गरेका थिए । वि.सं. २०५२ सालमा स्थापित आयोजक संस्था साहित्य कला सङ्गम, दमक, झापाले सर्जकहरूलाई पुरस्कृत गर्दा दम्पत्तिलाई नै मञ्चमा दोसल्ला र अबिर अर्पण गरेका थिए । रेखा सुवेदीसँग ईरानराई, प्रा.डा. देवी नेपालसँग टीका पौडेल, डम्बर दाहालसँग तुलसा दाहाल र कमला खनालसँग छोरा बालबाद्यवादक रियाज रिजाललाई पनि सम्मान गरिएको थियो ।

उक्त पुरस्कार अर्पण कार्यक्रममा आयोजक अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता, महासचिव दीपक सुवेदीको सञ्चालन तथा उपाध्यक्ष विन्दु दाहाल मूकदर्शकको स्वागत मन्तव्य रहेको थियो । गोरखा डिपार्टमेन्ट, दमकको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा बिहानी कला केन्द्र, दमकले स्वागत गीत प्रस्तुत गरेको थियो भने साहित्य कला सङ्गम, दमकको वार्षिक मुखपत्र ‘सङ्गम’को सार्वजनिकीकरण पनि गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्