कोसी सरकार हलचल हुँदैन : मुख्यमन्त्री कार्की


झोराहाट । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोसी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रवार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन र माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार फेरिने पनि छैन ।’ उनले भने ।

नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सुशीला पाठकलाई प्रदान गरिएको थियो । यस्तै छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मान अन्तरगत झोराहाट स्थित सरस्वती माविका पूर्व शिक्षक शिवनारायण चौधरी र हरिनारायण दासलाई गरियो । यसै गरी छात्रवृत्ति पाउने विद्यार्थीहरूमा दिनेश खत्री, दीपिका कुमारी कार्की, मल्लीका विश्वास, आरती सरदार रहेका छन् ।

मुख्यमन्त्री कार्कीले पुरस्कार वितरण गर्दै समाजमा योगदान पुर्‍याउनेहरू प्रतिको सम्मानले खुसी तुल्याएको बताए । ‘यो ज्ञान कक्षाकोठा बाहिरको ज्ञान हो जसले समाजका लागि सोचेर आज सम्मानित हुनुभएको छ । त्यस कारण प्रमाणपत्रमा अङ्कको मात्र मापनले सिकाई पूर्ण हुन सक्दैन ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्