बेलबारीमा प्रथम प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता हुने


बेलबारी । बेलबारीमा प्रथम प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ । बेलबारी नगर खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर चैत १० गतेदेखि प्रतियोगिता हुने जानकारी गराएका हुन ।

नगर खेलकुद विकास समितिका अध्यक्ष विजय तोलाङ्गीका अनुसार प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । आयोजक टिम बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका, पथरीशनिश्चरे नगरपालिका, भद्रपुर नगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र मेची नगरपालिका सहभागी हुने छ ।

उद्घाटन खेल बेलबारी र धरानबिच हुने बेलबारी क्रिकेट क्लबका अध्यक्ष तथा खेल संयोजक विपिन आचार्यले जनाएका छन् । प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी बेलबारी क्रिकेट क्लबलाई प्रदान भएको छ । प्राविधिक सहयोग क्यान, कोशी प्रदेश क्रिकेट संघ र मोरङ जिल्ला क्रिकेट संघले गर्ने आचार्यले बताए ।

नगर खेलकुद विकास समितिका अनुसार विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उप-विजेताले ५१ हजार १ सय ११ रुपैयाँ नगर पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु.१० हजार, उत्कृष्ट ब्याट-मेन, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई रु.५ हजार नगर पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई रु.२ हजार नगद पुरस्कार प्रदान गर्ने समितिले जनाएको छ ।

प्रतियोगिताको अनुमानित लागत ७ लाख ८५ हजार २ सय २२ रुपैयाँ रहेको समितिका अध्यक्ष तोलाङ्गीले जनाएको छ । उनका अनुसार फाइनल खेल चैत १७ गते शनिवार हुने छ ।

प्रतिक्रिया दिनुहोस्