माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा : सुन तस्करी प्रकरण


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको आईजी वसन्त कुँवरले जानकारी दिएका छन् । उनलाई काठमाडौं ल्याइँदै छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराको समेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए । गत शुक्रवार मात्र मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट समेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो । यो प्रकरणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरू समेतलाई आयोगले दोषी देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्