सुन्दरहरैँचामा अनेरास्ववियुद्वारा सडक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धीको अभियान सुरु


सुन्दरहरैँचा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटी, सुन्दरहरैँचाले सडक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धीको अभियान सुरु गरेको छ । अनेरास्ववियुले आज शुक्रवारदेखि पूर्व पश्चिम महेन्द्र राजमार्गमा सुन्दरहरैँचा वडा नं.१० र १२ को प्रमुख बजार क्षेत्रमा जेब्रा क्रसिङ निर्माण कार्यको सुरुवात गरी अभियानको उद्घाटन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व राज्य मन्त्री राजकुमार ओझाले जेब्रा क्रसिङको रङ्ग सडकमा रँगाउँदै अभियानको शुभारम्भ गरेका हुन । कार्यक्रमको राजनीतिक आन्दोलनसँगै २०६२/०६३ पछि रचनात्मक क्रियाशीलताको आन्दोलनको माध्यमबाट विद्यार्थीहरूलाई गोलबन्द गर्दै अनेरास्ववियु अगि बढ्दै गएको ओझाले बताए । सोही अनुरूप सडक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धीको अभियान एक रचनात्मक कार्यक्रम रहेको उनले बताए । अनेरास्ववियु विद्यार्थीहरूको हकहितको लागि सधैँ अग्रसर रहने सच्चा सङ्गठन रहेको बताउँदै ओझाले सचेतना मूलक तथा रचनात्मक कार्यक्रमको आयोजनाको लागि सुकुना बहुमुखी क्याम्पस कमिटीलाई धन्यवाद व्यक्त गरेका छन् ।

नेकपा एमाले सुन्दरहरैँचा नगरपालिकाका अध्यक्ष मातृका ढकाल, अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका सचिव मिलन घिमिरे, अनेरास्ववियु मोरङ जिल्लाका अध्यक्ष तुलसी घिमिरे लगायतले बढ्दो सडक दुर्घटना न्यूनीकरणको लागि उत्कृष्ट कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै अभियानको सफलताको शुभकामना व्यक्त गरेका छन् । विराटचौक प्रहरी चौकीका प्रमुख सई नीरज खड्का, ट्राफिक प्रहरी असई गणेश दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको विषयमा जानकारी गराउँदै सुकुना बहुमुखी क्याम्पसका स्ववियु सचिव एलिस ओझाले सुन्दरहरैँचा क्षेत्रभित्र रहेको पूर्वपश्चिम राजमार्गमा करिब १२ स्थानमा जेब्रा क्रसिङ निर्माण गर्ने बताएका छन् । यस कार्यक्रमले विद्यार्थी साथै आमनागरिकलाई सडक वारपार गर्न, सवारी साधनलाई पैदल यात्रीको उपस्थितिको जानकारी गराउने साथै सम्भावित दुर्घटनाको न्यूनीकरण गर्ने आशा व्यक्त गरेका छन् । साथै सवारी चालक र यात्रु सबैले ट्राफिक नियम पालना गर्न आग्रह पनि गरेका छन् । कार्यक्रममा विद्यार्थीहरूले तीव्र गतिमा सवारी साधन नचलाऔँ, लाईसन्स प्राप्त नगरी सवारी साधन नचलाऔँ, बाटो काट्दा जेब्रा क्रसको प्रयोग गरौँ, मा.प.से गरी सवारी साधन नचलाऔँ लेखिएका पप्पेल्ट प्रदर्शनी गर्दै आफैँ जेब्रा क्रसिङ निर्माण कार्यमा जुटेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुकुना बहुमुखी क्याम्पस कमिटी, सुन्दरहरैँचाका अध्यक्ष योगेस दाहालको अध्यक्षतामा भएको हो । दाहालका अनुसार आज वडा नं. १० र १२ को प्रमुख बजार क्षेत्रको सडकमा ४ ठाउँ जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न भएको छ । भोली (शनिवार) वडा नं.४ बलियासम्म करिब ७ स्थानमा जेब्रा क्रसिङ बनाउने दाहालले जनाए ।

प्रतिक्रिया दिनुहोस्