काँग्रेसको अवरोधपछि संसद् बैठक स्थगित : गृहमन्त्रीको राजीनामा माग


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आजको बैठकमा राखिएको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । यसअघि आजै बसेको बैठक काँग्रेसको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो ।

झण्डै दुई घण्टापछि पुनः सुरु भएको बैठक काँग्रेसको नाराबाजीपछि स्थगित भएको हो । सभामुख घिमिरेले गृहमन्त्रीलाई लामिछानेलाई राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने समय दिएपछि काँग्रेसले संसद् अवरोध गर्दै नाराबाजी गरेका थिए । काँग्रेसले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद् अवरोध गरेको हो ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए ।
उनले भने, ‘बजेटसम्बन्धी कुनै पनि विषयमा अवरोध गर्न चाहँदैन । नेपाली काँग्रेसले निरन्तर एउटा प्रश्न उठाइराखेको छ । कुनै पनि माननीय मन्त्रीजी कुनै पनि अनुसन्धानको दायराभित्र छानबिनको घेराभित्र पर्नु भएको छ भने राज्य त्यो ढङ्गबाट अगाडि बढ्नुपर्ने स्थिति छ भने त्यस्ता माननीय मन्त्री ज्यूलाई आफ्नो पदमा बसिराख्न हक हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्