प्रथम हिलेथाम कपको उपाधि साँघुरीगढीको डाडाबजारले चुम्यो


किशन शाही – केराबारी । मोरङको केराबारी २ स्थित हिलेथाम खेलमैदानमा सोमबार सम्पन्न प्रथम हिलेथाम कप २०८० को उपाधि डाडाबजार फुटबल क्लबले हात पारेको छ । मोरङको मिक्लाजुंग फुटबल क्लबलाई हराउँदै साघुरीगढी गाउँपालिकाको डाँडाबजार फुटबल टिमले उपाधि माथि कब्जा जमाएको हो ।

अत्यन्तै कडा प्रतिस्पर्धाका बिच सम्पन्न फाइनल खेलमा डाँडाबजारले मिक्लाजुंगलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो । विजेता टिमले नगद ७५ हजार सहित मेडल ट्रफि र प्रमाण पत्र हात पारेको छ । उपविजेता टिम मिक्लाजुंगले नगद ५० हजारमा चित्त बुझाएको छ ।

खेल सुरु भएको १७ सेकेण्डमा डाँडाबजारका जर्सी नं. ७७ का खेलाडी विरेन लिम्बूले गोलको खाता खोली खेललाई अग्रता दिलाएका थिए । त्यसको लगतै १६ मिनटमा जर्सी नं.९ का सन्दीप लिम्बूले मध्यान्तर अघि थप १ गोल गरी खेल २ सुन्यको अग्रता दिलाएका थिए ।

मध्यान्तर पछि ३३ र ४१ औँ मिनटमा मेक्लाजुंगका जर्सी नं.१० का पदम मगरले २ गोल गरी खेललाई बराबरीको स्थितिमा ल्याए पछि खेल अत्यन्तै रोमाञ्चक प्रतिस्पर्धात्मक बनेको थियो । खेल सकिन केही समय बाँकी छदा ५५ औँ मिनटमा डाडाबजारका रविन राईले थप १ गोल गरेपछि त्यही गोल डाडबजारका लागि निर्णय साबित भयो र उपाधि चुम्न सफल भयो ।

खेलको राइजींग प्लेयरका रूपमा तोर्ण लिम्बू घोषित भए । डाडाबजारका गोलकिपर खगेन्द्र भण्डारी वेष्ट गोलकिपर , खेम विक वेष्ट डिफेन्डर सन्दीप लिम्बु वेष्ट फरवाड तथा हाइस्कोरर भए । मेक्लाजुंगका रिजन मगर म्यान अफ दि सिरिजबाट पुरस्कृत भएका छन् ।

विजेता र उपविजेता दुवै टिमका क्याप्टेनलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरले पुरस्कार वितरण गर्नुभएको थियो । यसैबिच केराबारी र राजारानी भेट्रान्स बिच भएको मैत्रीपूर्ण खेलमा केराबारी भेट्रान्स विजयी भएको छ । केराबारी भेट्रान्सले राजारानी भेट्रान्सलाई ५–१ को अन्तरले हराएको हो । विजयी सँगै केराबारी भेट्रान्सले नगद २० हजार रुपैयाँको पुरस्कार राषी हात पारेको छ ।

हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजना केराबारी गाउँपालिकाको सहयोग र विभिन्न व्यापारी व्यवसायी प्रवासी नेपालीहरूको सहयोगमा फागुन २५ देखि सुरु भएको सो हिलेथाम फुटबल कप सम्पन्न गर्न सहयोग गर्ने दाता सहयोगी महानुभावहरू,खेल आयोजक समितिका पदाधिकारीहरू लगायत अफिसियल टिमलाई धन्यवाद दिँदै आगामी दिनमा खेलकुद क्षेत्र सँगै हिलेथाम खेलमैदानको विकासका लागि अझै ठुलो खेल प्रतियोगिता सञ्चालन गर्ने हौसला मिलेको बताउँदै खेल प्रतियोगिता सफल भएकोमा आयोजक समितिका अध्यक्ष विक्रम शाहीले धन्यवाद व्यक्त गरेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्