सनसाइनले भव्यतापूर्वक मनायो ३३ औँ वार्षिकोत्सव


मिलन के राउत – उर्लाबारी। गौरवमय तीन दशक बढीको इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजा हासिल गर्दै आएको सनसाइन अङ्ग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सक्ने सनसाइन इङ्लिस बोर्डिङ स्कुल उर्लाबारीका उत्कृष्ट संस्थागत विद्यालयमध्येको एक हो ।

उर्लाबारी ३ मंगलबारेमा अवस्थित सो विद्यालयले आइतबार विविध साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम गरी ३३ औँ वार्षिकोत्सव मनाएको छ । उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उर्लाबारी ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, प्याब्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख पौडेलले शिक्षा क्षेत्रको विकास र उन्नयनका लागि अभिभावक, विद्यार्थी र शिक्षकको समान भूमिका हुने बताउनुभयो । उनले यी तीन पक्षमा कुनै एकको भूमिका कमी भएमा शैक्षिक गुणस्तर खस्किने बताउनुभयो । उहाँले बालबालिकालाई संस्कारसहितको शिक्षा दिन आवश्यक रहेको बताउँदै किताबी ज्ञानका साथसाथै सहकार्यकलाप तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । विद्यालयका प्रिन्सिपल तथा निर्देशक सुरेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी हर्कबहादुर खड्का र विद्यालयका पूर्व प्रिन्सिपल प्रेमकुमार बुढाथोकीलाई दोसल्ला ओढाइ कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति पस्किएका थिए । कार्यक्रममा अभिभावकहरूका तर्फबाट उर्लाबारी ३ निवासी डा. हरिबाबु दाहालले मन्तव्य राख्नुभएको थियो । विद्यालयको सेवा, सुविधा र मूलतः गुणस्तरीय शिक्षाले सन्तुष्टि मिलेको उहाँको भनाई थियो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल भक्त बस्नेतले स्वागत मन्तव्य राखेका थिए । यस्तै, प्याब्सन उर्लाबारीका नगर अध्यक्ष दिनेश पोख्रेल, सचिव कुवेर न्यौपानेसँगै स्थानीय निजी विद्यालय सञ्चालकहरू आनन्द कार्की, हेमचन्द्र भट्टराई, एलपी राई, सूर्य पौडेल, सन्दीप पौडेल, अमर काफ्लेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सभापतित्व ग्रहण गरेका निर्देशक तथा प्रिन्सिपल सुवेदीले विद्यालयलाई थप उचाइ दिन आफूहरू लागिपरेको बताउनुभयो । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यालय अब्बल रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– ‘कोर्स बुकहरू त भइहाल्यो, यसका अलावा हाम्रा विद्यार्थीहरू खेलकुद लगायतका क्रियाकलापहरूमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमी हुन दिएका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्