गठबन्धन शुद्ध छैन, विवादित मान्छे पनि छ : पम्फा भुसाल


काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको बताएकी छन् । शुक्रवार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ सत्ता गठबन्धन शुद्ध नभएको टिप्पणी गरिन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् ।

‘नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्याउनु पर्छ’, उनले भनिन्, ‘यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ ।’

उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनी राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा तरङ्गित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाएका बताइन् । ‘यसले एउटा राजनीतिमा राष्ट्रिय रूपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरू बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरङ्ग पनि यसले ल्याएको छ’ उनले थपिन् ‘तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने सङ्कल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् । उनले गठबन्धनमा वामपन्थीहरूको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्