धनकुटा नगरपालिकाद्वारा छ महिलालाई सम्मान


धनकुटा । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रवार धनकुटा नगर क्षेत्रका छ जना महिलालाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाले सामुदायिक भवनमा कार्यक्रम आयोजना गरेर महिलाहरूलाई सम्मान गरेको हो ।

शहीद भीमनारायण श्रेष्ठकी पत्नी लक्ष्मीदेवी, पहिलो निर्माण व्यवसायी महिला फुलमाया वि.क., चेम्पो चालक तृष्णा राई र नाङ्लो बनाउने काम गर्दै आएकी उद्यमी स्मृति राईलाई सम्मान गरिएको छ । डकर्मी काम गर्दै आएकी महिला श्रमिक डम्बरकुमारी खड्का, वृद्ध सासू आमालाई राम्रोसँग पालनपोषण गर्दै आएकी जसकुमारी राई र श्रमिक महिला चन्द्र मादेनलाई पनि सम्मान गरिएको छ ।

खानेपानी मन्त्री राजेन्द्र राई, प्रदेश सभा सदस्य द्वय इन्द्रमणि पराजुली र निरन राई, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

महिला दिवसमा प्रभातफेरी

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रवार धनकुटा बजारमा प्रभातफेरी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संघसस्थाहरुको सहभागितामा धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो ।

मदनचोकबाट सुरु भएको र्याली हुलाकटोल, बचिबजार, भीमनारायण चोक लगायत क्षेत्र हुँदै सामुदायिक भवनमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । ब्यानर र प्लेकार्डसहित नारा लगाउँदै सयौँ महिला प्रभातफेरिमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्