कानुनले बाटो देखाउने हो, डर होइन : मुख्यमन्त्री कार्की


विराटनगर । काेशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताकाे कार्यालय काेशी प्रदेशको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधारणलाई डर, त्रास देखाउनु भन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

कानुनी अपरिवर्तनीय होइन, समय आवश्यकता अनुसार परिवर्तन हुन्छ, उनले भने, कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ । प्रदेशमा अहिलेसम्ममा छ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो तर आफू पदमा हुँदा त्यही कानुन ठिक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा बहस गरेपछि कसरी संघीयता कार्यान्वयन हुन्छ भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न गरे ।

उनले आफू सरकारमा रहुन्जेल संविधानको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । सहिदको रगतले लेखिएको संविधान विपरीत सरकारको कुनै पनि काम नगर्ने उनले सुनाए । उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिवद्धा जनाए । मुख्यमन्त्री कार्कीले काेशी प्रदेशका ५ जना मुख्य न्यायाधिवक्तालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्