बागमती प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिए : ६ मन्त्रीले सामूहिक राजीनामा दिए


हेटौँडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ । बागमती प्रदेश सरकारका ६ मन्त्रीले समर्थन फिर्ता लिँदै सामूहिक राजीनामा दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष राजीनामा दिएका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्री समक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

नेपाली कांग्रस संसदीय दलका नेता समेत रहेका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त भएका थिए भने अन्य चार जना गत जेठ ७ गते नियुक्त भएका थिए । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीसहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जमरकट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्ता साझेदार दलहरू एमाले र राप्रपाले सरकार छाडेपछि नेपाली काँग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जमरकट्टेलले सरकार पुनर्गठन गरेका थिए ।

संघीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली काँग्रेस ३७ सदस्यसहित सबैभन्दा ठुलो दल हो भने नेकपा (एमाले) का २७ सदस्य सहित दोस्रो ठुलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्दछ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्