श्रममन्त्री शरतसिंह भण्डारी दुबई भ्रमणमै रहँदा पदमुक्त हुने भए


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई (दुबई) भ्रमणमै रहेका बेला पदमुक्त हुने भएका छन् । उनी यति बेला विदेश यात्रामा छन् । मन्त्री भण्डारी विदेश यात्राकै बेला नेपालमा भने सत्ता समीकरण फेरिएको छ ।

यो सत्ता समीकरणको परिवर्तनका कारण दुबई भ्रमणमा रहेका श्रममन्त्री शरतसिंह भण्डारीले देश नफर्किँदै मन्त्री पद गुमाएका छन् । भण्डारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीबाट मन्त्री बनेका थिए । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको साताभन्दा लामो संवादपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण परिवर्तनको निर्णय लिएका छन् ।

यो अवस्थामा काँग्रेसको सोमबार बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । बुढानीलकण्ठ बैठकपछि काङ्ग्रेसबाट रहेका सबै १० मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई आजै राजीनामा बुझाउँदै छन् । उता लोसपालाई नयाँ सत्ता समीकरणमा ल्याउने टुङ्गो भइसकेको छैन । प्रचण्ड र एमाले अध्यक्ष ओली अहिले जनता समाजवादी पार्टीसँग संवादमा छन् । जसपाबाट उपेन्द्र यादव मन्त्री बन्न तयार छन् । तर लोसपासँग दुई नेताको संवाद अघि बढेको छैन ।

यस्तो अवस्थामा यूएईमा भइरहेको दुबई रोजगार मेलामा सहभागी हुन १९ फागुनमा गएका श्रममन्त्री शरतसिंह भण्डारीको पद नेपाल फर्किन नपाउँदै खुस्किएको छ । उनी श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, विभिन्न सञ्चार माध्यमका पत्रकारसहितको जम्बो टोली लिएर दुबई भ्रमणमा निस्किएका थिए । वैदेशिक रोजगार व्यवसायी सङ्घको आयोजनामा दुबईको होटेल जे डब्लु मेरिएट मरिनामा आयोजना भएको रोजगार मेलामा उनले सम्बोधन पनि गर्ने कार्यक्रम थियो ।

यसैबिच सत्ता गठबन्धनमा फेरबदलकै कारण परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ । फिनल्याण्डको हेल्सिन्कीमा हुन लागेको संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम ’मा सहभागी हुने तयारीमा रहेका साउदको भ्रमण अन्तिम समयमा रद्द भएको हो । सत्ता गठबन्धनमा हेरफेर हुने निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले साउदको भ्रमण रोकिदिएका थिए । साउदको भ्रमण रोकिएको भोलिपल्ट सोमबार काँग्रेस सत्ता गठबन्धनबाट बाहिरिँदा एमाले एक वर्षपछि फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्