सहकारीको अनुगमन गर्दै उर्लाबारी नगरपालिका


उर्लाबारी । अनियमित तवरबाट सञ्चालन भइरहेको गुनासोहरू आउन थालेपछि उर्लाबारी नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको अनुगमनलाई तीव्र पारेको छ । नगरपालिकाले सहकारी सुधार्ने अभियानअन्तर्गत अनुगमन थालेको उपमेयर मिना खतिवडा पौडेलले जानकारी दिनुभयो ।

सहकारीहरूलाई विधिसम्मत सञ्चालनार्थ सचेत बनाउने उद्देश्यले अनुगमन थालिएको उहाँको भनाई छ । नगरपालिकाका प्रशासकीय अधिकृत मुरारी घिमिरेले सहकारीलाई विधिसम्मत चलाउन विगतदेखि नै सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नुभयो । ‘सहकारीको मूल्य मान्यताअनुसार सञ्चालन भए,नभएको अनुगमन गरिएको हो,’ उहाँले भन्नुभयो ।

उर्लाबारी नगरपालिकाले कार्यक्षेत्रका १९ वटा सहकारीको नियमन गर्ने अख्तियारी भएको उल्लेख गर्दै नगर सहकारी शाखा प्रमुख कविता ढुंगानाले १५ वटा सहकारीको अनुगमन सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा कैफियत भेटिएका सहकारीलाई के–कस्तो कारबाही हुने भन्ने चाडै निर्णय लिइनेछ । सहकारी अनुगमनमा उपमेयर पौडेल, प्रशासकीय अधिकृत घिमिरे, कर्मचारी ढुंगानाका अलावा प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयका अधिकृतद्वय मोहनराज भट्टराई तथा मनोज कार्की संलग्न हुनुहुन्छ ।

अनुगमनका क्रममा कतिपय सहकारीहरूका दुई वर्षदेखि चारखाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्ति पत्र नदिएको, साधारण सभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको लगायतका कैफियत भेटिएको थियो । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्