डेढ सय किलोमिटर पदयात्रा गरी मुख्यमन्त्री कार्की सुनसरीमा


इटहरी । तीन जिल्लामा डेढ सय किलोमिटर पदयात्रा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सुनसरीको तालतलैया क्षेत्र आइपुगेको छ । कार्कीको नेतृत्वमा फागुन ९ गते झापाको बाहुनडाँगीबाट हात्तीको जैविक मार्गमा हात्तीमैत्री पदयात्रा सुरु भएको थियो । यस क्रममा कार्कीले झापा, इलाम र मोरङका विभिन्न वन तथा बस्तीमा अवस्थित हात्ती जैविक मार्ग हुँदै यात्रा तय गरेका हुन ।

पदयात्रा टोली शनिवार राति १० बजे सुनसरीको फोक्लिङ टापु हुँदै तालतलैया सिमसार क्षेत्र प्रवेश गरेको हो । सुनसरी प्रवेशका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । त्यस क्रममा स्थानीय बासिन्दाले पछिल्लो पटक तालतलैयासहित इटहरी क्षेत्रमा जङ्गली हात्तीबाट भएको क्षतिबारे जानकारी गराए ।

कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै भने,“म आफै जनताको समस्या बुझ्न घरदैलोमै आएको छु । हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो ।” मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने सुनाए ।

मुख्यमन्त्री कार्कीको पदयात्रा उदयपुरको बेलसोत पुगेर समापन हुनेछ । यस क्रममा उनले दजर्नौ स्थानमा स्थानीय र हात्ती प्रभावितहरूसँग अन्तर्संवाद गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्