नोबेलसहित दुई ठुला मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा


काठमाडौँ, १ मङ्सिर / विराटनगरको नोबेल मेडिकल कलेज सहित दुई मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ । विभागले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसभित्रका पहुँचवालाहरूले सञ्चालन गरेको कलेजमा छापा मारेको हो ।

मोरङको नोबेल मेडिकल कलेजसहित, नेशनल मेडिकल कलेज वीरगन्ज र चितवन मेडिकल कलेज, चितवनमा आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिनका लागि छापा मारिएको हो ।

नोबेल मेडिकल कलेज विराटनगर काँग्रेस नेता सुनिल शर्माको कलेज हो । उनी यसअघि काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि उम्मेदवार थिए । नेशनल मेडिकल कलेज सत्तारुढ नेकपाका नेता बसरुद्धिन अन्सारीको हो । उनी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेको तर्फबाट वीरगन्जमा मेयरको उम्मेदवार थिए । चितवन मेडिकल कलेज काँग्रेस निकट प्रा डा हरिशचन्द्र न्यौपानेको हो ।

सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीहरूले आन्दोलन चर्किएको बेला पहुँचवालाहरूले सञ्चालन गरेको तिन मेडिकल कलेजमा विभागले छापा मारेको छ । विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीहरूसँग पनि आवश्यक कागजपत्र लिने बताइएको छ ।

विद्यार्थीहरूले आन्दोलन गर्दै अवैध रूपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षा समेत बहिष्कार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्