पशुपति बोर्डिङमा फुड फेस्टिभलको बेग्लै मज्जा !


उर्लाबारी । उर्लाबारीकै अग्रणी संस्थागत विद्यालय पशुपति आवासीय माविले विद्यार्थीहरूको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको फुड फेस्टिभल धूमधामसँग सम्पन्न भएको छ । शनिवार उर्लाबारी – ७ स्थित विद्यालय परिसरमा आयोजना गरिएको ‘पशुपति फेष्ट २०८०’ मा विद्यार्थीहरूले आफ्ना विविध कला प्रस्तुत गरेका थिए ।

विद्यार्थीले तयार गरेका खाजा सामग्री किन्न अभिभावक तथा आगन्तुकहरूको को भीड लागेको थियो । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल र खानाका स्टल समेत राखिएको थियो । कार्यक्रममा कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरूले विविध खेल तमासाको स्टल सञ्चालन गरेका थिए । यस्तै कक्षा सम्मका विद्यार्थीले परिकारहरूको स्टल सञ्चालन गर्नुका साथै कक्षा १२ का विद्यार्थीले स्वास्थ्य चेकजाँचको शिविर चलाएका थिए ।

शिविरमा आगन्तुकहरूको सुगर, प्रेसरलगायत जाँच गरिएको थियो । खानापनको सैद्धान्तिक ज्ञान मात्र नभएर प्रयोगात्मक सिकाइले विद्यार्थीको आत्मविश्वास जगाउने भएकाले विगत वर्षझैँ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको प्रिन्सिपल कार्कीले बताउनुभयो । बजारमा थुप्रै चीजहरू किनेर खाएका तर आफैले कुकिङ् गरेर अरूलाई परिकारहरू चखाउँदा बेग्लै मज्जा आउने विद्यार्थीहरूले बताए । साथै यसबाट आफूहरूले व्यापार भनेको के हो र व्यापार कसरी गर्न सकिन्छ भन्ने कुरा सिकेको उनीहरूको भनाई छ ।

उक्त फुड फेस्टिभलको संयोजन विद्यार्थीहरूले आफै गरेको विद्यालयका शिक्षक सन्तोष चुडाँलले जानकारी दिनुभयो । कार्यक्रममा नर्सरीदेखि कक्षा ११ सम्मका विद्यार्थीले नृत्य, गायनलगायत स्टेज प्रस्तुति पस्किएका थिए । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम, बालबालिकाको फेसन शोसँगै विभिन्न खेल तथा मनोरञ्जनका स्टल र खानाका स्टल समेत राखिएको थियो । अनौपचारिक रूपमा दिनभर सञ्चालन भएको कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीहरूको विविध कलाबाट मनोरञ्जन लिएका थिए ।

पठनपाठनका साथै विद्यार्थीहरूको चौतर्फी विकासका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल कार्कीको भनाई छ । कार्यक्रममा गत वर्षको एसइईमा विद्यालयकै उत्कृष्ट अङ्क ल्याउन सफल कोमल गुप्तालाई नगद ४९ हजार दुई सय ५० राशीसहित सम्मान गरिएको थियो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित पशुपति आमाविमा हाल एक हजार दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्