सुकुको मुहारमा खुशी : नेपाल खेलकुद महासंघ बेलबारीको नेतृत्वमा घर निर्माण गर्दिने


बेलबारी । बेलबारी नगरपालिका वडा नं.१ निवासी सुकु ऋषिदेवको परिवारमा अहिले खुशी फर्केको छ । ज्याला मजदुरी गर्दै जीविकोपार्जन गरिरहेको सुकुको जीर्ण अवस्थामा रहेको घर पुन: निर्माण हुने भए पछि खुशी छाएको हो । नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटीको नेतृत्वमा टिनको छानोको पक्की भुईँ घर बन्ने भएको छ ।सुकुको परिवारमा छोरी ज्वाइँ नाति नातिनीहरू गरी जम्मा ७ जना छन् । श्रीमान् र छोराको निधन भएको सुकु बताउँछिन् ।

सुकुलाई ज्याला मजदुरीको आयले पक्की घर बनाउने सपना पुरा गर्न निकै कठिन थियो । तर नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटीले सुकुको सपना पुरा गर्दै छ । यती बेला सुकु खुशी छिन । उनी भन्छिन्, ‘एक वर्ष भयो पर्खेको अब चैँ सुरुवात भयो खुशी हुन्छु त ।’ उनको मुहारमा छाएको खुशीको मुस्कानले जो कोहीलाई आनन्दित बनाऊ छ ।

नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटीका अध्यक्ष डम्बर श्रेष्ठको अध्यक्षतामा बिहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतद्वारा घर निर्माणको लागि शिलान्यास भएको हो । प्रमुख अतिथि बस्नेतले नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटीको प्रशंसा गर्दै विपन्न परिवारको घर निर्माण कार्यले खेलकुद विकाससँगै जनताको सेवामा स्वयमसेवी हातहरू छन् भन्ने सन्देश दिएको बताए ।

घर निर्माण कार्यमा सबैलाई सहयोग गर्न आग्रह गर्दै कुनै आर्थिक अभाव भए साथ सहयोग रहने प्रतिबद्धता पनि बस्नेतले गरेका छन् । जनताको सेवामा समर्पित रहेको बस्नेतले बताए । नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटीले सुरु गरेको घर निर्माण कार्य सम्पन्न भए पछि मोरङको १७ वटै पालिकामा पनि समृद्ध नेपाल सुखी नेपालीको योजना अन्तरगत अभियानको रूपमा विस्तार गर्ने बस्नेतले बताएका छन् ।

शिलान्यास कार्यक्रमसँगै चाडै घर निर्माण कार्य सम्पन्न हुने विश्वास रहेको बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले बताए । सुकु परिवारको लागि घर निर्माण कार्यमा सबै जुट्न आग्रह गर्दै, नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने राईले बताए । नेपाल खेलकुद महासंघ बेलबारी नगर कमिटी, अन्य सामाजिक संघसंस्था, वडा कार्यालय, टोल विकास संस्था सबै एक ठाउँमा उभिएर घर निर्माण कार्य सम्पन्न गर्न राईले आग्रह गरे । वडा नं.१ म सुकु परिवारको लागि घर निर्माण गर्दिने कार्यको लागि राईले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्