विश्व बैंकका प्रतिनिधिले मेयरलाई भेटे : सुनझोडा चार लेन सडकको स्थलगत निरीक्षण


उर्लाबारी । उर्लाबारीको कृष्ण चौक –सुनझोडा चारलेन निर्माणाधीन सडकको भौतिक प्रगति बारे विश्व बैङ्कको प्रतिनिधि मण्डलले उर्लाबारी नगरपालिकाका मेयर गङ्गाप्रसाद खरेलसँग भेटघाट साथै जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया गरेको छ । मेयर खरेलले नगरपालिकाको कार्यकक्षमा विश्व बैङ्क र सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलाई स्वागत गर्नुभयो ।

बुधवार भएको अन्तरक्रियामा विश्व बैङ्क र नगरपालिकाले निर्धारित समयभित्रै सडक निर्माणलाई परिणाममुखी बनाउने, अन्य आयोजनाको सम्भाव्यता अध्ययनलगायत विषयमा द्विपक्षीय छलफल भएको थियो । विश्व बैङ्कको कुल ४२ करोड ५७ लाख आर्थिक सहयोगमा सडक निर्माणले गति लिएको छ । स्थानीय सुशासनमा प्रतिबद्धता जनाउँदै मेयर खरेलले उर्लाबारीको आर्थिक विकासका लागि विश्व बैङ्कको सहयोग अतुलनीय अवसर भएको बताउनुभयो । मेयर खरेलको भनाइ थियो, ‘हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौँ ।

जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।’ यस्तै, विश्व बैंकका नेपालस्थित टिम लिडर अभिवाहुले आफूहरूसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको ग्रामीण विकासमा उपयोगी हुने बताउनुभयो । अभिवाहुले भन्नुभयो, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौँ र स्थानीय सरकारसँग हातेमालो गरी काम गर्छौँ । तपाईँहरूको प्रगति नै हाम्रो प्रगति हो ।’

नगरपालिकामा भएको भेटघाट तथा छलफलपछि सडक निर्माणको अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन तथा छलफलमा नगर प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, नगरपालिकाका वडाध्यक्षहरू, इन्जिनियरहरू साथै, विश्व बैंकका टिम लिडर अभिवाहु, विज्ञहरू मनोजकुमार लाल, सुदर्शनलाल श्रेष्ठ, सगुन पराजुली, सहरी विकास तथा भवन निर्माण विभागका सुदीप श्रेष्ठ, प्रकाश पाण्डे, रञ्जन सुवाल, विनोद, डिएससीका राजन श्रेष्ठ, भवानीप्रसाद सिंह, जीवनकुमार कोइराला, निर्माण कम्पनीका अर्जुन तुम्रोकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्