बालचन्द्रको त्यो क्लिनिक, यो बाल अस्पताल !


मिलन के राउत – उर्लाबारी । स्वास्थ्यकर्मी बालचन्द्र सुब्बा आफै एउटा ‘ब्रान्डनेम’ हुनुहुन्छ । खासगरी बालबच्चाको रोगको निदान र उपचारमा उहाँको विशिष्ट शैलीसँग मानिसहरू जानकार छन् । धेरैले उहाँलाई सम्झिने भनेकै बाल विशेषज्ञका रूपमा हो ।

उर्लाबारी ६ स्थित आफ्नो घरमै सुब्बाले बर्षौसम्म क्लिनिक सञ्चालन गर्नुभयो । उर्लाबारीमा मात्रै नभएर पूर्वी मोरङमै कुनै ठाउँको कुनै बच्चा बिरामी हुनासाथ अभिभावकमा बालचन्द सुब्बाको नाम ‘इमेजिङ’ भइहाल्थ्यो । आज पनि उर्लाबारीमा कुनै सफारी चालकलाई ‘बालचन्द्रको मा’ भन्यो भने ठाउँ विशेषको नाम भनिरहनु पर्दैन । ख्याति फैलिएकै छ । फरक यति हो, उबेला बच्चालाई काखी च्यापेर आमाहरू लामबद्ध हुन्थे, सबेरैदेखि घरमा सेवाग्राहीको चाप थेगिनसक्नु हुन्थ्यो । अहिले अवस्थिति फेरिएको छ । त्यो व्यक्तिगत क्लिनिक संस्थागत अस्पतालमा परिणत भएको छ ।

विगतमा जस्तो पट्यारलाग्दो लाइन लागेर होइन, व्यवस्थित किसिमले आफ्ना नानीबाबुको चेकजाँच तथा उपचार गराउन सकिने अवस्था छ । हुन पनि बिरामी बच्चाको चेकजाँच मात्रै गरेर भएन, उपचारलाई परिणाममुखी बनाउनै पर्दथ्यो । त्यसका लागि प्रविधि र सहयोगी जनशक्ति पर्याप्त थिएन । आफूले उपचार गरेका बच्चाहरूको अरू स्वास्थ्य जटिलता र समयमा उपचार नपाएको कारण मृत्यु हुँदाको पीडादायी क्षणहरू कतिकति ! त्यसो त, उपचार सेवा प्रभावकारी, सशक्त र सहज बनाउन पनि अस्पतालका रूपमा स्तरोन्नति गर्नै पर्ने बाध्यता थियो नै ! एक जनाको भरमा चलेको क्लिनिकलाई अस्पतालकै रूपमा स्तरोन्नति गर्ने स्वास्थ्यकर्मी सुब्बामा एउटा अठोट थियो ।

बालबालिकामा समर्पित एउटा विशिष्टीकृत सेवा प्रदान गर्न सकिने अस्पताल खोल्ने उहाँको सपना थियो । आज बालचन्द्र सुब्बाकै अगुवाइमा पञ्चावती अस्पताल सञ्चालनमा छ । बालमैत्री वातावरण र संरचनामा अवस्थित छ । सफा, चिटिक्क अनि व्यवस्थित रूपमा सञ्चालित छ अस्पताल । सोधपुछ कक्षमा हुने व्यवहारले बिरामी र आफन्तलाई निकै राहत महसुस हुन्छ। ‘म आफैँ पनि सक्रिय रूपमा स्वास्थ्य क्षेत्रमा लागेकाले यस्तो अस्पताल बनाउँछु भन्ने सोच बनाएको थिएँ,’ अस्पतालका अध्यक्षसमेत रहनुभएका सुब्बाले भन्नुभयो, ‘मैले जहाँ–जहाँ काम गरेँ, त्यहाँ–त्यहाँ बालबालिकाको उपचार सुदृढ गर्नतिर लागेँ, तर विशेष अस्पताल चाहिने रहेछ भन्ने बोध भयो ।’

बालबालिकाको लागि छुट्टै अस्पताल हुनुपर्ने मान्यता विकसित भइसकेको छ । यद्यपि ठुला सहरमा फाट्फुट्ट बाल अस्पताल सञ्चालनमा आए पनि उर्लाबारीजस्तो सहरोन्मुख ठाउँमा यो परिकल्पना बाहिरकै कुरा थियो । यस्तोमा निजी क्षेत्रबाटै किन नहोस्, बालबालिका बिरामी पर्दा धेरै रोगको उपचार एउटै छानामुनि हुनसक्ने स्वास्थ्य संस्था सञ्चालनमा आउनु स्थानीयबासीका लागि गर्व गर्ने आधार हो । उर्लाबारी ६ स्थित सुब्बाकै घर परिसरमा थप संरचना निर्माण र स्तरोन्नति गरी ०७८ साल चैतबाट पञ्चावती अस्पताल सञ्चालनमा आएको हो ।

अस्पतालका प्रशासन प्रमुख चेतनचन्द्र सुब्बाका अनुसार यो अस्पतालले बालबालिकामा देखिने सामान्य समस्यादेखि जटिल समस्यासम्मको उपचार सेवा दिनेछ । अस्पतालको क्लिनिकल ब्यबस्थापनको नेतृत्व गरिरहनुभएका बालरोग बिशेषज्ञ डाक्टर नमराज पुरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बालरोग विशेषज्ञ भनेपछि सबै उही डाक्टरले हेर्छ भन्ने मान्यता हामीकहाँ छ तर बच्चाको किड्नी, फोक्सो, न्युरो, मुटुलगायत उपचारका लागि छुट्टै विशेषज्ञ चिकित्सकहरूको व्यवस्था गरेका छौ ।’

वरिष्ठ स्वास्थ्यकर्मी बालचन्द्र सुब्बाका अलवा अनुभवी तथा बच्चाको मनोविज्ञान बुझेका चिकित्सक, नर्सलगायत १६ जनाको जनशक्तिले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ । विशेष ओपिडीमार्फत बाल मधुमेह, बाल मुटुरोग, उच्च जोखिम नवजात शिशु सेवा र हाडजोर्नी उपचार सेवा उपलब्ध छन् । अस्पतालमा हाल १५ शय्या रहेका छन् । यसलाई आवश्यकताका अनुरूप विस्तार गर्दै लैजाने बताइएको छ । फार्मेसी, एम्बुलेन्स तथा क्यान्टिनजस्ता आधारभूत सेवा जति बेलै उपलब्ध छन् ।

अस्पतालले सम्पन्न वर्गका लागि मात्रै नभई विपन्न वर्गलाई पनि गुणस्तरीय तथा सर्वसुलभ उपचार सेवा प्रदान गर्दे आइरहेको प्रशासन प्रमुख चेतनचन्द्र सुब्बा बताउनुहुन्छ । नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या, डेंगु, निमोनिया, जन्डिस, लहरे खोकीजस्ता समस्या अधिक हुने गरेको छ । त्यस्तो समस्या भएका बालबच्चाको प्रभावकारी उपचार गरिँदै आएको अस्पतालका मेडिकल डाइरेक्टर नमराज पुरी बताउनुहुन्छ ।

बालबालिकाको स्वास्थ्य उपचारमा सहजता ल्याउन आफूहरू तल्लीन रहेको उहाँको कथन छ । पूर्वी मोरङका रतुवामाई, मिक्लाजुङ, कानेपोखरी, लेटाङ, बेलबारी, पश्चिमी झापाका विभिन्न स्थान र इलामका माङसेबुङ, चुलाचुलीदेखिका बिरामी बालबच्चालाई पञ्चावती अस्पतालमा उपचारार्थ ल्याइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्